काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ क्रिकेट प्रतियोगितालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौंले दर्शक तथा क्रिकेटप्रेमीलाई आग्रह गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले प्रतियोगिताका क्रममा गैरकानुनी बेटिङ तथा सट्टेबाजी नगर्न र नगराउन अनुरोध गरेको छ । साथै, जात, धर्म, लिङ्ग, वर्ण, भूगोल, संस्कृति तथा परम्परालगायत विविधताको सम्मान गर्न पनि प्रहरीले आग्रह गरेको छ ।
प्रहरीले मैदानभित्र निषेधित सामग्री नलैजान, पाकेटमारी तथा चोरीबाट सतर्क रहन र सुरक्षाका लागि गरिने अनिवार्य जाँचमा सहयोग गर्न अनुरोध गरेको छ ।
त्यसैगरी, ट्राफिक नियमको पालना गर्न र सवारी आवागमनमा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ । प्रतियोगिताका टिकट ‘सोल्ड आउट’ भइसकेकाले टिकट नभएका दर्शकलाई रंगशाला वरपर अनावश्यक भीडभाड नगर्न पनि अनुरोध गरिएको छ ।
प्रहरीले प्रचलित कानुनको पालना गर्दै सुरक्षित र सभ्य नागरिकको परिचय दिन आग्रह गरेको छ ।

प्रतिक्रिया