काठमाडौँ । नेपाल बार एशोसिएशनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाएको छ । एशोसिएशनले पर्याप्त आधार र कारणबिना नागरिकलाई नियन्त्रणमा लिनु संविधान, कानूनको शासन र लोकतान्त्रिक व्यवस्थाविपरीत हुने जनाएको छ ।
सोमबार जारी विज्ञप्तिमा बारले जबरालाई सुरक्षा चुनौती भन्दै असोज १० गते मध्यरातमा नियन्त्रणमा लिइएको घटनालाई रहस्यमय र शंकास्पद भनेको छ । राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिलाई समेत जबरासँग भेटघाट गर्न नदिइएको भन्दै एशोसिएशनले घटनाको गम्भीरताप्रति ध्यानाकर्षण गराएको छ ।
बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा सरकार स्वेच्छाचारी र अनुदारवादतर्फ ढल्किरहेको आरोप लगाइएको छ । एशोसिएशनले कुनै पनि प्रकारको स्वेच्छाचारी शासनको पक्षमा आफू नरहने स्पष्ट पारेको छ ।
न्यायपालिकामा हुने विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै बारले न्यायपालिका स्वच्छ र भ्रष्टाचारमुक्त हुनुपर्नेमा जोड दिएको छ । सरकार, राजनीतिक नेता वा न्यायपालिकाका पूर्वपदाधिकारीबाट न्यायपालिकाको स्वच्छता र स्वतन्त्रतामाथि हुने हस्तक्षेपको प्रतिवाद गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो समय विचार तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएका गैरसंवैधानिक घटनाको विरोध गर्दै बारले आधार, कारण र प्रमाणबिना कुनै पनि नागरिकलाई पक्राउ नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
न्यायालयलाई दबाब, अभाव र प्रभावमा पारेर आफूअनुकूल सञ्चालन गर्न खोज्ने कार्यको डटेर सामना गर्ने एशोसिएशनले जनाएको छ ।
त्यस्तै, विचाराधीन मुद्दामामिलामा सेवानिवृत्त प्रधानन्यायाधीश, न्यायाधीश वा अन्य कसैले कुनै पनि माध्यम र स्थानबाट हस्तक्षेप, चासो, सरोकार वा छलफल गर्न नहुने कानुनी तथा आचारसंहितागत व्यवस्थाको पालना गर्न बारले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।


प्रतिक्रिया