–सुदन गुरुङ
भदौ २७…ऐतिहासिक दिन, मनमा तत्कालिन नेता र राजनीतिप्रतिको विद्रोह र देशप्रतिको चिन्ता दुवै थियो। । भदौ २३ पछि देश सामान्य अवस्थामा थिएन । राजनीतिक नेतृत्वप्रतिको विश्वास भत्किएको थियो । पुरानो नेतृत्व कुनै हालतमा स्वीकार्य थिएन, नयाँ नेतृत्व कसरी छान्ने कुनै बाटो थिएन । नयाँ अपरिचित र अपरिक्षित नेतृत्व छान्नु आफैँमा ठूलो चुनौती थियो। तीन दिनसम्म देश एउटै प्रश्नमा अडिएको थियो, देश कता जान्छ ? अब कसले निकास दिन्छ ? प्रधानमन्त्री को बन्दा सुरक्षित महशुस होला त ?
राजनीतिक अन्योलता र पावर भ्याकुम थियो। कुनै पनि देश लामो समय शक्ति रिक्ततामा रहनु ठिक होइन । एउटा नागरिकका रूपमा मेरो मनमा एउटै कुरा थियो, देशले निकास पाउनुपर्छ। राज्य चल्नुपर्छ । भदौ २३ को असाधारण घटनाले हामीलाई सामान्य राजनीतिक परिस्थितिभन्दा धेरै पर पुर्याइसकेको थियो । कहिलेकाहीँ इतिहासले यस्तो कठिन मोडमा उभ्याउँछ, जहाँ उपलब्ध कुनै पनि विकल्प पूर्ण हुँदैन, तर देशलाई अनिश्चिततामै छोड्नु पनि हुँदैन ।
भदौ २७ मा देशलाई निकास दिन मेरो भागमा पनि जिम्मेवारी आयो । राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो, एक थोपा पानी र अन्न मुखमा परेको थिएन । ९ घण्टाको त्यो प्रतीक्षामा अन्यौलता थियो, तर अडान पनि थियो कि आज देशलाई खाली हात फर्काउन हुँदैन। किनकी बाहिर सिंगो देश पर्खिरहेको थियो ।
अन्ततः नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पायो। त्यो क्षणमा एउटा ठूलो जिम्मेवारीको भारी विसाएर हलुका भएको महसुस भयो, देशले निकास पायो भन्ने अनुभूति भयो । त्यो परिस्थिति हजारौँ युवाको आवाज, नागरिकको अपेक्षा, धेरै व्यक्तिको प्रयास र देशलाई निकास दिनुपर्छ भन्ने साझा चेतनाले बनेको परिस्थिति थियो । मेरो भागमा आएको जिम्मेवारी मैले सकेसम्म निभाएँ । त्यसैले भदौ २७ सम्झिँदा आज पनि मनमा एउटै भावना आउँछ, कठिन परिस्थितिमा देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु ।

प्रतिक्रिया