बाँके । बाँकेमा छ हजार किशोरीलाई लक्षित गरी एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियान सुरु गरिने भएको छ ।
अभियानअन्तर्गत आगामी भदौ ३० गतेदेखि खोप लगाउन सुरु गरिने स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख सुनिता पौडेलले जानकारी दिइन्।
उनका अनुसार खोप अभियानको सुरुआत जिल्लाका सबै स्थानीय तहका विद्यालयबाट गरिनेछ । विशेषगरी, कक्षा ६ मा अध्ययनरत किशोरीलाई प्राथमिकतामा राखेर खोप लगाइनेछ ।
त्यसपछि समुदायस्तरका १० वर्षीया किशोरीलाई खोप लगाइने पौडेलको भनाइ छ । बैठकमा खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय तथा सम्बन्धित स्वास्थ्य संस्थाबीच समन्वय गरी आवश्यक तयारी गर्ने सम्बन्धमा छलफल भएको छ ।
बाँकेमा आठ स्थानीय तहमा खोप अभियान सञ्चालन हुनेछ । पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप लगाउने गरिन्छ । एचपिभी भाइरसले पाठेघरको मुखको क्यान्सर गराउन सक्छन् ।
किशोरी अवस्थामा नै खोप लगाउँदा राम्रो सुरक्षा प्राप्त हुने बताइएको छ । क्यान्सरको रोकथामका लागि दिइने यो खोप एक पटक मात्रै लगाइन्छ ।
जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया