प्रधानमन्त्रीसँग रविको भेटः बाढी प्रभावितको उद्धारदेखि पुनःस्थापनासम्मका विषयमा छलफल


काठमाडौँ । प्रधानमन्त्री बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
सोमबार दिउँसो उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको हो ।

भेटका क्रममा उनीहरुबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुनःस्थापनाका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्रीले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका छन् ।