भोटेकोसी बाढीः ७५२ जनाको मृत्यु, २ हजार ५०२ अझै बेपत्ता


काठमाडौँ । रसुवाको भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या ७५२ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार दिउँसो एक बजेसम्म ७५२ जनाको पुष्टि भएको र २ हजार ५०२ जना सम्पर्कविहीन रहेका जानकारी दिएको छ ।

प्राधिकरणकाअनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १०० र तनहुँमा ३६ जनाको शव फेला परेको छ ।

बाढीमा परी २३९ जना घाइते भएका छन् । उनीहरूको उपचार तथा उद्धारका लागि प्रभावित क्षेत्रमा ६ वटा सर्जिकल मेडिकल टोली परिचालन गरिएको छ ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार ७३० जनाको उद्धार गरिएको छ । नेपाली सेनाले २ हजार ९७४, नेपाल प्रहरीले २ हजार ६९९ र सशस्त्र प्रहरी बलले ३ हजार ५७ जनाको उद्धार गरेका छन् ।

जलविद्युत् आयोजनाका सुरुङमा फसेका २७९ जनालाई पनि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सेनाले हवाई उद्धारमार्फत २३६ विदेशी र २ हजार ८४५ नेपालीलाई सुरक्षित स्थानमा ल्याएको जनाएको छ । हालसम्म ३६३ वटा हवाई उडान भएका छन् ।

उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रमा १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली खोज तथा उद्धारमा खटिएका छन् ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा हालसम्म ३७ ट्रक र १३ बोलेरोमार्फत खाद्य तथा गैरखाद्य राहत सामग्री पठाइएको छ । हेलिकप्टरबाट समेत ८ वटा उडानमार्फत राहत सामग्री पु¥याइएको छ ।

सरकारले रसुवालाई १ करोड, नुवाकोटलाई १ करोड र धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । त्यस्तै, १५ स्थानीय तहलाई कुल ६ करोड ७५ लाख रुपैयाँ राहत रकम उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।

पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ अस्पतालमा राखिएका छन् । सम्पर्कविहीन विदेशी नागरिक, विदेशमा रहेका नेपाली, उपचाररत व्यक्ति तथा हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिको विवरण प्राधिकरणले सार्वजनिक गरेको जनाएको छ।