सरकारले खोज तथा उद्धारका लागि विदेशी टोलीलाई नेपाल आउन अनुमति नदिने


काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपाललाई खोज तथा उद्धारभन्दा विशेष प्राविधिक र विशेषज्ञता आवश्यक पर्ने क्षेत्रमा विदेशी सहयोग चाहिएको बताएका छन् ।

रोयटर्ससँग कुरा गर्दै मन्त्री खनालले नेपालसँग पर्याप्त प्राविधिक ज्ञान र विशेषज्ञता नभएका क्षेत्रमा विदेशी सहयोग आवश्यक रहेको बताए।
बुधबार हिमनदी भत्किएपछि चट्टान, हिउँ, हिलो र गेग्रानसहितको ठूलो बाढी हिमाली नदी प्रणालीमा पसेको थियो। बाढीका कारण नेपाल र चीनको तिब्बतमा ६ सयभन्दा बढी मानिसको मृत्यु भएको तथा २ हजारभन्दा बढी बेपत्ता रहेको जनाइएको छ।

बाढीले चीनको सीमावर्ती क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्याउनुका साथै जलविद्युत् आयोजना, सडक, पुल तथा अन्य पूर्वाधारमा क्षति गरेको छ ।
भारत, चीन, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, श्रीलंका र बंगलादेशले आफ्ना खोज तथा उद्धार टोली पठाएर सहयोग गर्न नेपालसँग अनुमति मागेका बताइएको छ ।

तर, सामान्य खोज तथा उद्धारका लागि भने विदेशी टोलीको आवश्यकता नरहेको खनालले स्पष्ट पारे । नेपाली उद्धारकर्मीहरू नै उद्धार कार्यमा सक्षम रहेको भन्दै उनले खोज तथा उद्धारमा विदेशी टोली परिचालन गर्दा काम दोहोरिन सक्ने बताए।
“हामीलाई सामान्य खोज तथा उद्धारमा थप सहयोग आवश्यक छैन। यसमा दोहोर्याएर अर्को टोली परिचालन गर्न आवश्यक छैन,” उनले भने।

उनका अनुसार सुरुङमा फसेका मानिसको उद्धार, पुल भत्किएका स्थानमा यातायात तथा सञ्चार सेवा पुनः सञ्चालन, शव पहिचान, डीएनए परीक्षण र लामो समयसम्म शव सुरक्षित राख्नेलगायतका क्षेत्रमा भने विदेशी प्राविधिक सहयोग आवश्यक छ।

भारत र चीनसँग बाढी प्रभावित क्षेत्रमा यातायात तथा सञ्चार सेवा तत्काल सञ्चालन गर्न बेली ब्रिज उपलब्ध गराउन नेपालले अनुरोध गरेको छ। बाढीका कारण उक्त क्षेत्रमा करिब दुई दर्जन पुल क्षतिग्रस्त भएका छन्।

उद्धार अधिकारीहरूका अनुसार बाढीले बगाएका धेरै शव चितवन र नवलपरासीका समथर क्षेत्रमा फेला परेका छन्। घटनास्थलबाट करिब १०० किलोमिटर टाढासम्म शव पुगेको जनाइएको छ।

अस्पतालहरूमा शवको चाप बढेको तथा शव सुरक्षित राख्न पर्याप्त रेफ्रिजेरेटरको अभाव रहेकाले आगामी दिनमा थप शव फेला पर्ने सम्भावना रहेको खनालले बताए।
बाढीबाट विद्यालय, अस्पताल, जलविद्युत् आयोजना, सडक, पुललगायतका संरचनामा व्यापक क्षति पुगेको छ। क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आगामी दिनमा नेपाललाई विदेशी सहयोग आवश्यक पर्ने अधिकारीहरूले बताएका छन्।

जलविद्युत् आयोजनाका केही सुरुङमा मानिसहरू फसेको हुन सक्ने सूचना प्राप्त भएको भन्दै खनालले सुरुङ उद्धारका लागि नेपाललाई आवश्यक उपकरण र प्राविधिक ज्ञानको आवश्यकता रहेको बताए।