काठमाडौं । भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लाका विभिन्न क्षेत्रमा प्रभावित नागरिकको उपचार तथा स्वास्थ्य सुरक्षाका लागि निजी मेडिकल तथा डेन्टल कलेज र शिक्षण अस्पतालले आफ्नो उपलब्ध जनशक्ति, पूर्वाधार तथा उपचार क्षमता परिचालन गर्ने भएका छन्।
एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष प्रा.डा.ज्ञानेन्द्र मानसिंह कार्कीद्वारा जारी गरिएको विज्ञप्तिमा विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । विपद्को अवस्थामा स्वास्थ्य सेवा व्यावसायिक दायित्व मात्र नभई मानवीय तथा सामाजिक उत्तरदायित्वसमेत भएकाले आफ्नो संस्थागत क्षमता आवश्यकताअनुसार परिचालन गर्न एसोसिएशनले प्रतिबद्ध रहेको जनाएको छ।
एसोसिएशनका अनुसार देशभर सञ्चालित निजी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपलब्ध विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, आकस्मिक तथा विशेषज्ञ उपचार सेवा, शल्यक्रिया, सघन उपचार, अस्पताल शय्या तथा आवश्यक स्वास्थ्य पूर्वाधारलाई प्रभावित क्षेत्रको आवश्यकताअनुसार परिचालन गर्न सकिनेछ। यसका लागि नेपाल सरकार, स्वास्थ्य तथा सम्बन्धित मन्त्रालय, स्थानीय तह, प्रशासन तथा सुरक्षा निकायसँग आवश्यक समन्वय गरी सेवा प्रवाह गर्न आफूहरू तयार रहेको एसोसिएशनले स्पष्ट गरेको छ।
विपद् व्यवस्थापन, उद्धार, राहत तथा उपचारमा राज्य संयन्त्रको नेतृत्व र प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै एसोसिएशनले निजी स्वास्थ्य क्षेत्रलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको जिम्मेवार साझेदारका रूपमा परिचालन गर्नुपर्नेमा जोड दिएको छ। उपलब्ध स्रोत, साधन, जनशक्ति र विशेषज्ञतालाई एकीकृत रूपमा परिचालन गर्न सके प्रभावित नागरिकलाई समयमै प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने भनाइ छ।
एसोसिएशनले राजनीतिक, संस्थागत वा अन्य कुनै पनि प्रकारका विभाजनभन्दा माथि उठेर नागरिकको जीवनरक्षा, उपचार र मानवीय सहयोगलाई साझा राष्ट्रिय प्राथमिकता बनाउन सरकार, राजनीतिक दल, सरकारी तथा निजी स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीका पेशागत संस्था, सुरक्षा निकाय, नागरिक समाज र सम्पूर्ण सरोकारवालालाई आह्वानसमेत गरेको छ।
विपद्को जुनसुकै परिस्थितिमा पनि नागरिकको जीवनरक्षा र उपचारप्रतिको आफ्नो दायित्वबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्दै एसोसिएशनले राष्ट्रिय संकटको यस घडीमा सरकारका सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै निजी मेडिकल कलेज तथा शिक्षण अस्पतालको उपलब्ध क्षमता नागरिकको सेवामा परिचालन गर्न आफूहरू सदैव तत्पर रहेको जनाएको छ।



प्रतिक्रिया