भोटेकोसी बाढी प्रभावितको उद्धारमा सेना रातभर परिचालन हुने


काठमाडौँ । नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितको उद्धार र खोज जारी राख्ने भएको छ । बाढीबाट प्रभावितको सङ्ख्या अत्यधिक रहेको र उद्धारका लागि चौतर्फी अपिल भइरहेको सन्दर्भमा नेपाली सेनाले उद्धार तथा खोज कार्यलाई रातभर जारी राख्ने भएको जनाएको छ ।

सेनाका अनुसार आज रातभर ‘११ एक्स टिम’बाट जमिनी उद्धार जारी रहने छ । साथै बिहीबार बिहान टिमुरे माथि रहेको ठूलो सङ्ख्यालाई हवाई उद्धार गरिनेछ भने विभिन्न सुरुङमा अड्किएका व्यक्तिको उद्धारको प्रयास जारी रहने छ ।
नेपाली सेनाले उद्धारका लागि थप समन्वयका साथ हवाई साधनको असरदार परिचालन, राहत सामग्री वितरण, मित्रराष्ट्रबाट प्राप्त हुन आउने राहत सामग्रीको ढुवानीलाई सहयोग गर्नेछ । त्यस्तै, जमिनमा थप फौज तैनाथ गरी विस्तृतमा खोज तथा उद्धार गर्नाका साथै अन्य सुरक्षा निकाय, सरोकारवाला संस्था तथा जनमानससँगको समन्वयमा लक्षित वर्गको उद्धार जारी राख्ने सेनाले जनाएको छ ।

सेनाका अनुसार आज दिनभर एक हजार ६९७ परिचालन गरिएको थियो भने थप तयारीका लागि ६५६ जना फौज तयारी अवस्थामा राखिएको छ । सेनाका अनुसार आज दिनभर उद्धार, खोज तथा राहतका कार्यक्रममा छ वटा सैनिक हेलिकप्टरबाट ९४ जनाको उद्धार तथा पाँच गैरसैनिक हेलिकप्टरबाट १२ जनाको उद्धार गरिएको छ । साथै जमिनी उद्धार २७ जनाको गरिएको छ ।

नेपाली सेनाका अनुसार आज ८०० केजी टेन्ट, २०० केजी मेडिकल सामग्री प्रभावित क्षेत्रमा पु¥याइएको छ भने उद्धारका लागि खटिएका हेलिकप्टरबाट खाना तथा पानी उपलब्ध गराइएको थियो ।