डा. गोविन्दशरण उपाध्याय ।
मेरो बाल्यकालको गाउँ सम्झँदा केही दृश्यहरू आज पनि आँखाअगाडि उस्तै गरी उभिन्छन्- काँधमा ठूलो झोला बोकेका व्यापारी, झोलाभित्र रङ्गीबिरङ्गी चुरा, ऐना, काइँयो, धागो र घरायसी सामान, अनि उनीहरूलाई कुरेर बसेका गाउँका महिलाहरू। हाम्रो घरतिर यसरी चुरा बेच्दै आउने झोले व्यापारीमध्ये धेरैजसो मुस्लिम समुदायका हुन्थे। तर त्यस बेला हामीलाई उनीहरूको धर्मभन्दा उनीहरूले ल्याउने चुराको रङ बढी थाहा थियो । गाउँमा मीत र मितिनी (सैनी) लगाउने चलन पुरानै थियो। त्यो नाता रगतको नाता थिएन, तर कहिलेकाहीँ रगतको नाताभन्दा पनि गाढा हुन्थ्यो । गाउँका चेलीहरूले चुरा बेच्न आउने मुस्लिम चेलीहरूसँग सैनी लगाउँथे । एकपटक सैनीको नाता गाँसिएपछि सम्बन्ध व्यापारको सीमामा रहँदैनथ्यो । उनी चुरा बेच्ने महिला मात्र रहन्नथिन्; घरकी सैनी हुन्थिन् ।
घरका छोरीबुहारीमध्ये कसैले सैनी लगाएपछि ती चुरेटीलाई हाम्रो घर आउन असजिलो हुँदैनथ्यो । बास चाहियो भने बास मिल्थ्यो, भोक लाग्यो भने भान्सामा खाना पाक्थ्यो । घरका आमा, दिदी, बहिनी र बुहारीहरूले उनलाई आफ्नै मान्छेजस्तै व्यवहार गर्थे । पुरुषहरूको हकमा पनि मीतको सम्बन्ध उस्तै आत्मीय हुन्थ्यो । त्यो समयमा परिचयको पहिलो प्रश्न “तपाईं कुन धर्मको?” हुँदैनथ्यो । प्रश्न हुन्थ्यो- “कहाँबाट आउनुभयो? थाक्नुभयो होला, पहिले खाना खानुस् ।” सायद त्यही नै पुरानो नेपाली समाजको एउटा सुन्दर पक्ष थियो । हाम्रो क्षेत्रमा आउने चुरेटाहरू प्रायः स्याङ्जा, पाल्पा र अर्घाखाँचीतिरका हुन्थे । हामी उनीहरूलाई सहजै ‘चुरेटा’ भन्थ्यौँ। पछि बुझ्दै जाँदा थाहा भयो – ‘चुरेटा’ उनीहरूको धार्मिक परिचय होइन, चुरा बेच्ने पेसासँग गाँसिएको स्थानीय सम्बोधन रहेछ ।
बाल्यकालमा हामीलाई उनीहरू मुस्लिम हुन् भन्ने खासै ज्ञान थिएन। बुढापाकालाई पक्कै थाहा थियो होला, तर बालबालिकाको संसारमा धर्मको विभाजनभन्दा चिनजान ठूलो थियो । हाम्रो स्मृतिमा उनीहरू मुसलमानभन्दा पहिले मीत थिए, सैनी थिए, चुरा बेच्ने परिचित दाजु वा दिदी थिए । समय भने बिस्तारै फेरियो । एक समय आयो, चुरा बेच्ने टोलीमा महिलाहरू कम हुँदै गए। पुरुष व्यापारी मात्र गाउँ आउन थाले । तर गाउँका महिलालाई पुरुषको हातबाट चुरा लगाउन अप्ठ्यारो हुन्थ्यो । यो सामाजिक असजिलो बुझेर केही व्यापारीहरूले फेरि श्रीमती वा छोरीलाई सँगै ल्याउन थाले । तर फर्केर आएका ती महिलाहरूको व्यवहार पहिलेको जस्तो लागेन । पहिले खुलेर बोल्ने, गाउँका दिदीबहिनीसँग हाँस्ने, मीत–मितिनीसँग घण्टौँ कुरा गर्ने, घरआँगनमा सहजै बस्ने महिलाहरू क्रमशः धेरै संकोची देखिन थाले । केही महिलाले टाउको सधैँ ढाक्न थाले । अपरिचित पुरुषसँग बोल्न छोडे । कतिपय आफ्नै पुराना सैनी वा मितिनीसँग पनि पहिलेझैँ आत्मीय संवाद गर्दैनथे ।
पुरुषहरूको पहिरन पनि फेरिँदै गएको देखिन्थ्यो । पहिले स्थानीय मानिससरह देखिने पोसाकको ठाउँमा विशेष प्रकारको गोलो टोपी, (पाकिस्तान र भारतका मुस्लिमहरूले प्रयोग गर्ने) कुर्ता र गोलीगाँठा देखिने सुरुवाल देखा पर्न थाले । मैले बाल्यकालमै यो परिवर्तन देखेको थिएँ तर यो परिवर्तन निकै धीमा थियो | सबैमा एस्तो परिवर्तन थिएन | बालमन स्वभावैले जिज्ञासु हुन्छ। मैले सोधेको पनि थिएँ -“तपाईंहरू किन पहिलेभन्दा फरक हुनुभएको?” त्यस क्रममा कतिपयले भन्न थाले, “हामी चुरेटा होइनौँ, मुसलमान हौँ । मुसलमानहरूले यस्तै लुगा लगाउँछन् । कुरा सक्कियो ।
त्यो भनाइ गलत थिएन । वास्तवमा हाम्रो बुझाइ नै अपूर्ण रहेछ । हामीले पेसालाई जात वा समुदाय ठानेका रहेछौँ । त्यसपछि हामीले बुझ्यौँ – चुरा बेच्ने ती परिवारमध्ये धेरै मुस्लिम समुदायका रहेछन् । तर परिवर्तन परिचयमा मात्र सीमित रहेन । हाम्रो गाउँले उनीहरूलाई मीत र सैनी ठानेर जति आत्मीयता दिन्थ्यो, समयसँगै त्यो सम्बन्ध केही ठाउँमा एकतर्फी हुँदै गएको अनुभूति हुन थाल्यो । पहिले सजिलै घरमा बस्ने, खाने, चाडपर्वमा रमाउने चुरेटाहरू क्रमशः केही सामाजिक व्यवहारबाट अलग हुन थाले ।
पछि म विदेश गएँ। धेरै वर्षपछि गाउँ फर्कंदा समयले गाउँ पनि परिवर्तन गरिसकेको थियो र मानिसका सम्बन्ध पनि । बहिनीको विवाहमा पुरानी संगिनीलाई निम्तो पठाइएको थियो, तर उनी आइनन् । अर्को अवसरमा एक जना मितिनी र मित विवाहमा आउनुभयो, तर विवाहको भोज खान मान्नुभएन । परम्परागत टीका लगाउन पनि अस्वीकार गर्नुभयो । उहाँप्रति हामीले केही गल्ती गर्यौं कि भनेर हामीलाई असजिलो लाग्यो । हामीलाई अचम्म लाग्यो । किनभने हाम्रो स्मृतिमा टीका केवल धार्मिक कर्म थिएन धेरैपटक त्यो आत्मीयता, सम्मान र शुभकामनाको सांस्कृतिक संकेत पनि थियो र आज पनि त्यस्तै छ । तर उहाँका लागि त्यसको अर्थ अर्कै भइसकेको रहेछ ।
त्यस दिन मैले पहिलोपटक गम्भीर रूपमा सोचेँ – के मानिसको धर्म बलियो हुँदै जाँदा उसले आफ्ना पुराना सामाजिक नाता कमजोर बनाउनैपर्छ **? **आज पनि गाउँतिर चुरेटा व्यापारी आउँछन् । तर उनीहरूको व्यापार अब चुरामा मात्र सीमित छैन । लत्ताकपडा, डसना, सिरक, भाँडाकुँडा र अनेकौँ घरायसी सामान बेच्ने गर्छन् । जीवन बदलिएको छ, व्यापार बदलिएको छ, सडक र बजार बदलिएका छन् । बदलिनु स्वाभाविक पनि हो । तर मलाई सबैभन्दा बढी सोच्न बाध्य बनाउने कुरा आर्थिक परिवर्तन होइन, सांस्कृतिक दूरी हो । चुरेटाहरूले नेपालको मौलिक संस्कृतिसंग दूरी बढाएको प्रष्ट अनुभव हामी सबैले गरिरहेका छौँ |
मेरो अनुभवमा चुरेटाहरूको सामाजिक, सांस्कृतिक जीवनमा नेपाली टोपी, दौरा–सुरुवाल वा स्थानीय पहिरनप्रतिको आकर्षण घटेको देखिन्छ । त्यसको सट्टा भारत वा पाकिस्तानका मुस्लिम समुदायमा प्रचलित पोसाकको प्रभाव बढेको छ । भाषा र धार्मिक अभिव्यक्तिमा पनि बाह्य प्रभाव देखिन्छ । उनीहरू नेपाली भन्दा भारतीय वा पाकिस्तानी ब्राण्डको मुस्लिम देखिने बढी लोभ गरेको देखिन्छ । तर सबै नेपाली मुस्लिम परिवारहरूमा एस्तो छैन । कहिलेकाहीँ कुराकानीमा केही व्यक्तिले भन्छन्- “अल्लाहबाहेक अरू कोही ठूलो हुन सक्दैन।” कसैले मूर्तिपूजा, रूखपूजा, गाईपूजा वा हिन्दु कर्मकाण्डलाई आलोचना गर्छ । यस्तो सुन्दा मेरो मनमा अर्को प्रश्न उठ्छ – आफ्नो आस्थालाई सम्मान गर्न अर्काको आस्थालाई होच्याउनैपर्छ र?
मैले केहीसँग सोधेको पनि छु – “यो परिवर्तन किन आयो?” जवाफमा कतिपयले भारत वा पाकिस्तानबाट धर्मशिक्षक बोलाएर धार्मिक शिक्षा लिएको बताएका छन् । विशेष किसिमको टोपी, कुर्ता–सुरुवाल, महिलाको पर्दा र निश्चित जीवनशैलीलाई उनीहरूले धार्मिक पहिचानको आवश्यक अङ्गका रूपमा बुझ्न थालेका रहेछन् । यहींबाट मेरो चिन्ता सुरु हुन्छ । मेरो चिन्ता कुनै व्यक्तिले अल्लाहको उपासना गरेकोमा होइन । आफ्नो धर्मप्रति निष्ठावान् हुनु प्रत्येक नागरिकको अधिकार हो । मेरो प्रश्न यति मात्र हो – धर्मको शिक्षा मानिसलाई आफ्नै माटो, भाषा, छिमेक र ऐतिहासिक सम्बन्धबाट टाढा लैजानुपर्ने हो र?
यदि कुनै बाह्य धार्मिक शिक्षकले नेपाली मुस्लिमलाई आफू बसेको समाजलाई अविश्वासीको समाज, नेपाली संस्कृति गलत र आफ्ना पुराना मीत–सैनीका सामाजिक सम्बन्धलाई धार्मिक कमजोरीका रूपमा बुझाउँछ भने त्यस्तो शिक्षामाथि नेपाली मुस्लिम समुदायभित्रै गम्भीर विमर्श हुनुपर्छ । किनभने इस्लाम भारतीय होइन, पाकिस्तानी होइन र अरबको पोसाकको नाम पनि होइन । धर्म आस्था हो । पोसाक संस्कृति हो । भाषा सञ्चारको माध्यम हो । राष्ट्रियता साझा ऐतिहासिक जीवन हो ।
नेपाली भाषामा कुरान पढेर पनि मुसलमान हुन सकिन्छ । नेपाली टोपी लगाएर पनि अल्लाहलाई सम्झन सकिन्छ । दौरा–सुरुवाल लगाउँदा धार्मिक विश्वास नष्ट हुँदैन । दशैँमा छिमेकीलाई शुभकामना दिनु, तिहारमा साथीको घर जानु वा स्थानीय पर्वमा सामाजिक रूपमा सहभागी हुनु र कुनै अर्को धर्मको पूजा गर्नु एउटै कुरा होइन । सहभागिता र आस्था फरक कुरा हुन् । जसरी कुनै हिन्दुले इदको अवसरमा मुस्लिम मित्रको घर गएर सेवइ खानासाथ मुसलमान हुँदैन, त्यसरी नै कुनै मुस्लिमले दशैँमा छिमेकीको खुसीमा सहभागी हुँदैमा आफ्नो इस्लामी आस्था गुमाउँदैन । सायद, नेपाली मुस्लिम समाजमा छिमेकीको धार्मिक र सांस्कृतिक उपस्थिति असहिष्णुता बढ्दो छ |
नेपाल समावेशी छ, यसको सुन्दरता नै यही हो । हामी अनेकौँ धर्म, भाषा, जाति र संस्कृतिका मानिस भएर पनि सयौँ वर्षदेखि एउटै चौतारोमा बस्दै आएका छौँ । हाम्रो सामाजिक जीवन केवल धर्मशास्त्रले बनेको होइन । मीत, सैनी, परिम, ऐँचोपैँचो, जन्ती, मलामी, दुःख–सुख र छिमेकीपनले बनेको हो । त्यसैले यो स्मृति कुनै मुस्लिम समुदायप्रतिको गुनासो मात्र होइन । बरु हराउँदै गएको एउटा आत्मीय नेपाली संस्कृतिप्रतिको सम्झना हो । म आज पनि ती पुराना चुरेटीहरू सम्झन्छु—काँधमा झोला, हातमा चुरा, अनुहारमा मुस्कान । घरमा आएपछि उनीहरूलाई धर्म सोधिँदैनथ्यो। पहिले पानी दिइन्थ्यो, खाना दिइन्थ्यो, अनि रात परे ओछ्यान लगाइन्थ्यो । उनीहरूले पनि सबै प्रकारको आतिथ्य प्राकृतिक रूपमा स्वीकार गर्थे । मलाई याद छ, उनीहरू खाने बेलामा भन्थे “मैले बाहिरको मासु खान्न ।” चुरेटाले कसैको घरमा मासु खाँदैनन् – सबैलाई थाहा थियो तर त्यो धार्मिक कारणले थियो भन्ने कसैलाई थाहा थिएन र थाहा पाउनु पर्ने कुनै आवश्यकता पनि थिएन । त्यस ताका हिन्दु परिवारका केही बुढापाकाहरू स्वयंपाकी, शाकाहारी हुन्थे ।
सायद हामी सबैले त्यही पुरानो सम्बन्धबाट केही सिक्न बाँकी छ । धर्मले मानिसलाई आफ्नो ईश्वरप्रति नजिक बनाओस्, तर छिमेकीबाट टाढा नबनाओस् । आस्थाले पहिचान देओस्, तर देश र समाजसँगको सम्बन्ध नतोडोस् । धार्मिक शिक्षा गहिरो होस्, तर घृणा सिकाउने नहोस् । र सबैभन्दा महत्वपूर्ण कुरा – हामी हिन्दु, मुस्लिम, बौद्ध, किराँत वा इसाई हुनुभन्दा पहिले छिमेकी हौँ । एउटाले अर्को धर्म, संस्कृति र परम्पराको सम्मान गर्दा सबैलाई सजिलो हुन्छ । अस्वीकारले अस्वीकार बढाउँछ, स्वीकारले स्वीकृति बढाउँछ ।
कहिलेकाहीँ लाग्छ, हाम्रो भविष्यको सबैभन्दा ठूलो प्रश्न पनि यही हो – चुरेटाहरूले (मुस्लिम समुदाय) आफ्नो धर्म, संस्कृति र परम्पराहरूको विनम्रअनुशरण गर्दै उहाँका पूर्खाले सहजरूपमा स्वीकार गर्दै नेपाली मौलिक संस्कृतिसंग जोडिने बाटोको सम्मान गर्ने कुरा आफ्ना बालबालिकालाई पुस्तान्तरण गर्न सक्छन् ?

प्रतिक्रिया