–बत्सराज कोइराला
इतरसम्बन्धमा यौनसम्बन्धः अपराध कि निजी स्वतन्त्रता ? यो अहिलेको एक ज्वलन्त प्रश्न हो ! आउनू छलफल गरौं । हामी अझै पनि धेरै हदसम्म ट्रेडिसनल छौँ। होटलमा दुई वयस्क राजीखुसीले यौनसम्बन्ध राखिरहेका छन् भने पुलिसले छापा मार्ने, समात्ने र पत्रकार बोलाएर तमासा बनाउने प्रवृत्ति अझै बाँकी छ। विडम्बना त के भने, हिजोअस्ती मात्रै एउटी युवतीसँग होटलमा यौनसम्बन्ध राखिरहेको अवस्थामा एकजना पुलिस कर्मचारी नै समातिए भन्ने समाचार आयो। अरूलाई समात्ने डन्डा बोकेको मान्छे त्यही डन्डाको छायामा आफैँ परेपछि प्रश्न उठ्छ, राजीखुसीले गरेको निजी सम्बन्ध अरूका लागि अपराध र पुलिसको आफ्नैलागि चाहिँ के ?
मलाई हेटौँडामा हुँदा सिमराको एउटा होटलमा तालिमपछि बसेका केही शिक्षक–शिक्षिकालाई प्रहरीले छापा मारेर पक्राउ गरेको पुरानो घटना सम्झना आउँछ। पत्रकार बोलाएर फोटोसहित समाचार बनाइयो। त्यतिबेलै मैले पत्रिकामा प्रश्न उठाएको थिएँ; दुई वयस्क मानिस आफ्नो निजी कोठामा राजीखुसीले यौनसम्बन्ध राखिरहेका छन् भने उनीहरूलाई समात्ने अधिकार प्रहरीलाई कुन कानूनले दिएको छ ?
एकेडेमीका कुलपतिसँगको एउटा अन्तर्वार्ता पनि यस्तै प्रसंगमा सम्झन लायक छ। ‘कहिल्यै आफूले कुनै पाप गरेको छु जस्तो लाग्छ ?’ भन्ने प्रश्नमा उनले “पहिलोपटक एक यौनकर्मीसँग यौनसम्बन्ध राखेको, अर्कोपटक काउलीबारीमा एक युवतीसँग सम्बन्ध राखेको र लामो समयसम्म एक विवाहित युवतीसँग यौनसम्बन्ध रहेको“ कुरा बताए। त्यसपछि उनको अभिव्यक्तिमाथि सामाजिक सञ्जालमा गालीगलौजको वर्षा भयो । उनको भनाइसँग सहमत वा असहमत हुन सकिन्छ, त्यसको नैतिक मूल्याङ्कन पनि गर्न सकिन्छ; तर कसैको विगतको यौनजीवन सार्वजनिक भयो भन्दैमा उसलाई गाली गर्ने नैतिक अधिकार हुँदैन। हामी सेक्सलाई गोप्य राख्न चाहन्छौँ, तर अरूको सेक्सको कथा सुन्न र त्यसको न्यायाधीश बन्न भने हतारिन्छौँ ।
नेपालमा व्यभिचार आफैँमा अपराध होइन । भारतमा समेत त्यसलाई अपराध बनाउने कानूनी प्रावधान सर्वोच्च अदालतले खारेज गरिसकेको छ। यौनसम्बन्धमा जबर्जस्ती, नाबालिग, शोषण वा अन्य अपराध छ भने राज्य अवश्य हस्तक्षेप गरोस्; तर सहमत वयस्कको निजी जीवनलाई नै अपराधको विषय बनाउनु राज्यको अनावश्यक हस्तक्षेप हो।
समस्या सेक्समा भन्दा हाम्रो दृष्टिमा बढी छ । हामी अझै यौनलाई पाप सोचेर हेर्छौँ र अरूको निजी जीवनमाथि नैतिक प्रहरी बनेर उभिन्छौँ। नैतिक असहमति र कानूनी अपराध एउटै कुरा होइन। सभ्य समाजले मानिसलाई आफ्नो जीवन जिउने स्वतन्त्रता मात्र दिँदैन, अरूको निजी स्वतन्त्रताको सीमा पनि सम्मान गर्न सिकाउँछ। सेक्सप्रतिको वर्जना हटाऔँ । सहमति, मर्यादा र कानूनको सीमा स्पष्ट राखौँ। अन्ततः बहस सेक्सको होइन; मानिसको निजी जीवनमा राज्य र समाजको हस्तक्षेप कहाँसम्म जायज हुन्छ भन्ने हो।

प्रतिक्रिया