काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रका मतभेद र असन्तुष्टि अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्न नेताकार्यकर्तालाई अपील गरेका छन् ।
शुक्रबार विज्ञप्तिमार्फत माहमन्त्री पौडेलले मुलुक कठिन राजनीतिक परिस्थितिबाट गुज्रिरहेका बेला कांग्रेस आफैं सजग, सुदृढ र एकताबद्ध हुन आवश्यक रहेको बताएका छन् ।
गत भदौ २३ र २४ गतेका घटनाक्रमपछि मुलुक कठिन मोडमा पुगेको उल्लेख गर्दै उनले युवाहरूले मुलुकमा रहेका विकृति र विसंगतिविरुद्ध शान्तिपूर्ण रूपमा आवाज उठाउन खोज्दा विभिन्न परिस्थिति र चलखेलका कारण त्यसले अप्रत्याशित रूप लिएको बताएका छन्।
आम निर्वाचनपछि देशमा प्रचण्ड बहुमतको सरकार बनेको उल्लेख गर्दै पौडेलले सरकारले प्राप्त गरेको जनमत खेर नजाओस् र जनअपेक्षाअनुसार मुलुक सही दिशामा अघि बढोस् भन्ने सबैको चाहना रहेको बताएका छन्। तर, सत्तामा रहेकाहरूका कतिपय गतिविधि तथा पछिल्ला घटनाक्रमले गम्भीर चिन्ता पैदा गरेको उनको भनाइ छ।
यस्तो अवस्थामा कांग्रेस आफैंभित्र कमजोर बने मुलुक ठूलो राजनीतिक विग्रहमा फस्ने जोखिम रहेको पौडेलले बताएका छन्।
पार्टीभित्रका विवाद सडक वा अदालतमा लैजानुभन्दा राजनीतिक संवादबाट समाधान गर्नुपर्नेमा जोड दिँदै उनले असन्तुष्ट नेता, कार्यकर्ता र शुभेच्छुकलाई पार्टी कार्यालय सानेपामा आएर संवाद गर्न आग्रह गरेका छन्।
‘राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ,’ पौडेलले भनेका छन्। विगतका कमजोरीमा सबैको सामूहिक जिम्मेवारी रहेको स्वीकार गर्दै उनले आगामी १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएका छन्। महाधिवेशनबाट कार्यकर्ताले सुम्पिएको नेतृत्वलाई स्वीकार गर्दै लोकतन्त्रलाई थप सुदृढ बनाउने बाटोमा एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ छ।
सरकारलाई खबरदारी गर्न पनि कांग्रेस बलियो र एकताबद्ध हुनुपर्ने पौडेलले बताएका छन्। पार्टीभित्रको विवादमा अल्झिँदा देशले सही नेतृत्व पाउन नसक्ने भन्दै उनले सबै मतभेद थाती राखेर पार्टीको मूल प्रवाहमा गोलबद्ध हुन अपिल गरेका छन्।
‘नेपाल तथा नेपाली जनताको सुन्दर भविष्यका लागि सँगै हिँड्न विनाशर्त सानेपा आउन’ उनले कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई आग्रह गरेका छन्।

प्रतिक्रिया