इरानमाथि ‘इतिहासकै कडा प्रतिबन्ध’ लगाउने अमेरिकी घोषणा


रोयटर्स । अमेरिकाले इरानमाथि ‘इतिहासकै कडा प्रतिबन्ध’ लगाउने घोषणा गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले नयाँ प्रतिबन्धले इरानविरुद्ध थप ठूलो सैन्य कारबाहीको आवश्यकता कम गर्न सक्ने बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानलाई कुनै पनि प्रकारको सहयोग वा आर्थिक ‘जीवनरेखा’ उपलब्ध गराउने देशलाई आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए। त्यसको भोलिपल्ट बेसेन्टले नयाँ प्रतिबन्धको घोषणा गरेका हुन्।

बेसेन्टले प्रतिबन्धसम्बन्धी विस्तृत विवरण आगामी सोमबार सार्वजनिक गर्ने बताएका छन्। उनले इरानमाथि ‘अधिकतम आर्थिक दबाब’ दिइने भन्दै त्यसले ठूलो स्तरको सैन्य कारबाही पुनः सुरु गर्ने आवश्यकता कम गर्न सक्ने संकेत गरे।

अमेरिकी चेतावनीपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीन साताभन्दा बढी समययताकै उच्च विन्दुमा पुगेको थियो। इरानविरुद्ध आर्थिक दबाब बढाएर करिब छ महिनादेखि जारी द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रयासका कारण तेल बजार प्रभावित भएको हो।

यस द्वन्द्वमा हजारौँ मानिसको मृत्यु भइसकेको छ। इरानले होर्मुज जलडमरूमध्यबाट हुने समुद्री आवागमनमा अवरोध सिर्जना गर्न सक्ने क्षमता देखाएपछि विश्व बजारमा थप चिन्ता बढेको छ। फेब्रुअरीअघि विश्वभर व्यापार हुने कुल तेलमध्ये करिब २० प्रतिशत यही जलमार्गबाट ओसारपसार हुने गरेको थियो।

अमेरिका र इरानले अप्रिल र जुनमा दुईपटक युद्धविराम घोषणा गरेका थिए। होर्मुज जलडमरूमध्यमार्फत समुद्री आवागमन सहज बनाउँदै द्वन्द्व अन्त्य गर्ने उद्देश्यले गरिएका दुवै प्रयास छोटो समयमै असफल भएका थिए।

इरानले सन् १९७९ को इस्लामिक क्रान्तिपछि करिब पाँच दशकदेखि अमेरिकी आर्थिक प्रतिबन्ध सामना गर्दै आएको छ।

अमेरिकी घोषणाअघि इरानी विदेश मन्त्रालयले अमेरिकी आर्थिक तथा व्यापारिक प्रतिबन्धको विरोध गर्दै त्यसलाई ‘आर्थिक आतंकवाद’ भनेको थियो। प्रतिबन्धले इरानको स्वतन्त्रता, गरिमा र राष्ट्रिय सार्वभौमसत्ता रक्षा गर्ने संकल्पमा कुनै प्रभाव नपार्ने इरानको भनाइ छ।

बेसेन्टले नयाँ रणनीतिलाई ‘एकपछि अर्को प्रहार’को संज्ञा दिएका छन्। उनका अनुसार इरानमाथि जारी नौसैनिक नाकाबन्दी र नयाँ आर्थिक प्रतिबन्ध यसको मुख्य हिस्सा हुनेछन्। अमेरिकाले अप्रिलमा इरानमाथि नौसैनिक नाकाबन्दी लगाएको थियो, जुन जुनको मध्यमा एक महिनाका लागि स्थगित गरिएको थियो।

बेसेन्टले अमेरिकी प्रतिबन्धले इरानमा प्रभाव पार्ने र वर्तमान शासन पतन हुने दाबी गर्दै अमेरिकी सहयोगी तथा विश्वका अन्य देशलाई आफ्नो पक्ष रोज्न आग्रह गरेका छन्।

यसैबीच, इरानको सबैभन्दा ठूलो तेल खरिदकर्ता चीनमाथि पनि अमेरिकी दबाब पर्न सक्ने संकेत गरिएको छ। सन् २०२५ को तथ्यांकअनुसार इरानबाट निर्यात हुने तेलको ८० प्रतिशतभन्दा बढी चीनले खरिद गरेको थियो।

तर चीनमाथि थप आर्थिक दबाब लगाए अमेरिकाविरुद्ध चीनले प्रतिकार गर्न सक्ने जोखिम रहेको छ। चीन अमेरिकालाई दुर्लभ खनिजलगायत महत्वपूर्ण सामग्री निर्यात गर्ने प्रमुख मुलुक हो।

इरानसँग व्यापार गरेको भन्दै चीनलाई निशाना बनाउने सम्भावनाबारे सोधिएको प्रश्नमा बेसेन्टले केही विषय सार्वजनिकभन्दा निजी छलफलमार्फत समाधान गर्नु उपयुक्त हुने बताए।

चीनको वासिङ्टनस्थित दूतावासले भने प्रतिबन्ध र दबाबले समस्या समाधान गर्न सहयोग नगर्ने प्रतिक्रिया दिएको छ। दूतावासले सम्बन्धित पक्षलाई जिम्मेवार कदम चाल्दै राजनीतिक तथा कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ।