आफ्नो मानमर्दन भएजस्तो लागे अदालत गएर मुद्दा हाल्न आईजीपीलाई खगेन्द्र सुनारको चुनौती


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरी हेडक्वार्टर बिचौलियाले कब्जा गरेको दाबी गरेका छन् ।

बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले आईजीपीमाथि उठेका प्रश्नको छानबिन हुनैपर्ने बताएका हुन् । उनले आफूले केही दिनअघि गरेको प्रश्नमा अडिग रहेको बताए ।

उनले आफ्नो मानमर्दन भएजस्तो लागे अदालत गएर मुद्दा हाल्न आईजीपीलाई चुनौती दिए । उनले सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न नपाइने बताए ।

उनले भने, ‘निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् । अस्ति गरेको प्रश्नमा म अडिग छु । कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला, कठघरामा उभिएर जवाफ दिनलाई म तयार छु ।’

उनले एनजिओा नाममा सामाजिक सद्भाव भड्काउने, जातीय द्वन्द्व र साम्प्रदायिकता बढाउने काम भइरहेको आरोप लगाए ।

उनले भने, ‘एनजिओको नामबाट सामाजिक सद्भाव भड्काउने काम भएको छ । जातीय द्वन्द्व भड्काउने काम भइरहेको छ । जातको नाममा, धर्मको नाममा समाज भड्काउन पाइँदैन । थर फेर्न मन लागेकाहरू जाने, तर दलितलाई अगाडि देखाएर राज्यलाई ध्वस्त गर्न पाइँदैन । अंग्रेजीमा पैसा ल्याएर नेपालीमा डुबाउन पाइँदैन ।’