–देवेन्द्रराज ढकाल ।
सायद नेपाल फर्कने बित्तिकै सरकारी धरपकडको शिकार हुइन्छ कि भन्ने डर शेरबहादुरजीलाई थियो । त्यही तर्कनामा डुबिरहेको बेला आफूलाई स्वागत गर्न आउनेको लर्को देख्दा उनी अचानक र अस्वाभाविक रुपमा हौसिए । त्यसै त संगठित रुपमा भावना व्यक्त गर्न कमै ढंग भएका शेरबहादुरले जोशमा ‘ज्ञानेन्द्रले त केही गर्न सकेन भने यिनले के सक्लान्’ भनेर शक्तिमा रहेको सरकार र सरोकारविहीन पूर्वराजाप्रति एकैचोटी घृणा ओकले जुन सान्दर्भिक थिएन ।
सत्तामा रहँदा सरकारको आफ्नो धर्म हुन्छ, पूर्वराजाले त्यसबेला त्यही धर्म निर्वाह गरेका थिए । त्यो सन्दर्भ अन्त्य भएपछि पूर्वराजाले कुनैपनि राजनीतिकर्मीलाई ब्यक्तिगत रुपमा लाञ्छित गरेको देखिँदैन । उसो त देउवाजीलगायत अरु प्रधानमन्त्रीले आफू सत्तामा रहँदा कसलाई के गरे कसलाई के भने भन्ने कुराको लामो फेहरिस्त बन्न सक्छ । बजारमा जस्ता हल्ला चलेको भएपनि सरकारले पनि शेरबहादुरबिरुद्ध कुनै धरपकड गरेको थिएन, उल्टै सुरक्षा दिएको थियो ।
काठमाडौँ फिर्ता हुने बित्तकै हौसिएका देउवाजीमाथि हिन्दूराष्ट्रको पक्षमा बोल्न केही काङ्ग्रेसीहरुको दवाव थियो । उनले आफूलाई हिन्दूराष्ट्रवादी भन्न सक्ने वा चाहने त अवस्थै थिएन । नेपालको धार्मिक पहिचान समाप्त पार्ने सबै चरणका षड्यन्त्रमा साझेदार देउवाले आफ्नाको चित्त बुझाउन ‘म हिन्दू हुँ’ मात्र भने त्यो पनि विकृत शैलीमा । तर म हिन्दू सनातनी राष्ट्रको पक्षमा छु, त्यसैलाई पार्टीको नीति बनाउँ भनेनन् ।
देउवाले सत्ता बाहिर रहेका पूर्वराजालाई होच्याएको र आफूलाई हिन्दू बताएको बिषयले अहिले नेपालको राजनीतिक बजारमा एउटा अद्वितिय दर्शन र बिलक्षण रणनीतिको रुपमा प्रवेश पाएको छ । सबै विश्लेषकहरु यी दुई मुर्त बाणीको अमुर्त अर्थ निकाल्न कस्सिएका छन् । यसले हामीसँग कुनै ठोस राजनीतिक बिषय छैन, हामी राजनीतिक खोक्रोपनले नराम्ररी जकडिएका छौँ र हामीलाई त्यही खोक्रोपनमा रमाउने बानी परिसकेको छ भन्ने देखाउँछ। के साँच्चिकै देशमा स्पष्ट राजनीतिक बिचार र दर्शनको खडेरी परेकै हो त ? यस्तै अर्थहीन कुराको पक्ष/विपक्षमा मुलुक र राजनीति अझ कति दिन रुमल्लिएला ?

प्रतिक्रिया