सामाजिक सञ्जालमा स्ट्याटस लेखेर अध्यक्ष हटाउने कुरा अराजकता होः केपी ओली


झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पार्टी पुनर्गठनको आवश्यकता नरहेको बताएका छन् । झापाको बिर्तामोडबाट आइतबारदेखि सुरु भएको एमालेको ‘मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ कार्यक्रममा अध्यक्ष ओलीले पार्टी पुनर्गठनका नाममा भइरहेको बहसलाई ‘सडक छापका कुरा’ को संज्ञा दिए ।

उनले अहिलेको आवश्यकता पुनःजागरण र संगठन सुदृढीकरण भएको बताए । अहिले पार्टी पुनर्गठनको कुरा वास्तविक नभएको ओलीको भनाइ छ। कुनै कमिटी वा जनवर्गीय संगठनको पुनर्गठन हुनसक्ने भए पनि विगतमा भएका पुनर्गठनजस्तो अहिलेको अवस्था नभएको उनले स्पष्ट पारे । उनले भने, ‘पुनर्गठन भनेको एउटा नीति, गन्तव्य, संघर्ष र कार्यक्रमसम्म नयाँ बनाउने कुरा हो । आज हामी पुनर्गठनको बेला होइन, पुनःजागरणको कुरा हो।’

अध्यक्ष ओलीले विगतमा भएका पार्टी पुनर्गठनका प्रसंग उल्लेख गर्दै अहिले त्यस्तो अवस्था नरहेको दाबी गरे । उनले भने, ‘पहिलोपटक २०१९ सालमा पार्टी पुनर्गठन भएको थियो भने २०२८ सालमा आफूहरूको नेतृत्वमा अर्को पुनर्गठन भएको थियो । त्यसपछि २०७७–७८ सालमा पनि मेरै नेतृत्वमा पार्टी पुनर्गठन भएको थियो ।’

२०७४ सालमा पार्टी एकीकरणपछि एमाले झन्डै दुई तिहाइको शक्तिका रूपमा स्थापित भएको स्मरण गर्दै अध्यक्ष ओलीले त्यसपछि पार्टीभित्रका केही ‘घुसपैठिया’ र ‘कुण्ठाग्रस्त प्रवृत्ति’का कारण पार्टी विभाजन भएको आरोप लगाए ।

उनले भने, ‘एमाले सिद्ध्याउँछौँ, केपी ओली सिद्ध्याउँछौँ भनिरहेको बेला हामीले नेपालको कम्युनिस्ट पार्टीमा सबैभन्दा बहुमत भएको पार्टी बनायौँ । ‘पार्टी एकतापछि झन्डै दुई तिहाइको पार्टी बनायौँ। त्यही बेला केही प्रवृत्तिले पार्टी टुक्राए।’
अध्यक्ष हटाउन सामाजिक सञ्जालमा अभियान चलाउने वा हस्ताक्षर संकलन गर्ने कार्यलाई उनले अनुशासनहीनता र अराजकताको संज्ञा दिए । उनले भने, ‘पार्टीको विषय हाम्रो आन्तरिक विषय हो। अध्यक्ष हट्नुपर्छ भन्ने कसैलाई लाग्यो भने सामाजिक सञ्जालमा स्ट्याटस लेखेर अध्यक्ष हटाउने, हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने हुन्छ?’ त्यो अनुशासनहीनता हो, अराजकता हो।’

कार्यक्रममा आफूले कार्यकर्तालाई हप्काउने गरेको भन्ने प्रचारप्रति पनि ओलीले असन्तुष्टि जनाए । उनले भने, ‘मैले हप्काएर मान्छे बेहोस भयो भनेर प्रचार भएको छ । मैले जीवनमा अहिलेसम्म कडा बचन, कडा स्वर कहिल्यै कसैलाई भनेको थिएँ भने हात उठाएर भन्नुहोस्। यहाँ कोही मालिक र कोही दास छैनन्।’