काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षक–कर्मचारीका पेसागत समस्या र नीतिगत समाधानबारे सरकारले आयोजना गरेको ‘नीति संवाद’ कार्यक्रममा महासंघको संस्थागत सहभागिता नगराइएको भन्दै आपत्ति जनाएको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्तरुपमा विज्ञप्ति जारी गरी ‘नीति संवाद’ कार्यक्रममा आफूहरुलाई नबोलाइएको भन्दै आपत्ति जनाएका हुन् ।
शिक्षा तथा खेलकुद मन्त्रालयले साउन ३० गतेदेखि सातै प्रदेशमा शिक्षक–कर्मचारीका पेसागत समस्या र नीतिगत समाधानका विषयमा छलफल तथा सुझाव संकलनका लागि नीति संवाद आयोजना गरेको थियो । महासंघले शिक्षा ऐनले व्यवस्था गरेको आधिकारिक पेसागत संस्था नेपाल शिक्षक महासंघको संस्थागत उपस्थिति नखोजिनु र नराखिनु गम्भीर विषय भएको जनाएको छ ।
शिक्षक–कर्मचारीका पेसागत विषयमा नीति संवाद भइरहँदा महासंघलाई बाहिर राखिनुले शिक्षक–कर्मचारीका समस्या तथा पेसागत आन्दोलनप्रति मन्त्रालयको नियत उदाङ्ग भएको महासंघको आरोप छ । महासंघले मन्त्रालयलाई तत्काल आफ्नो निर्णय सच्याउन ध्यानाकर्षण गराउँदै अन्यथा उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवारी मन्त्रालय स्वयंले लिनुपर्ने चेतावनी दिएको छ ।


प्रतिक्रिया