काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति र केन्द्रीय समितिको वैधानिकताका विषयमा कुनै अलमल नरहेको बताएका छन् ।
शनिबार दोस्रो झापा–१ काठमाडौं कप फुटसल प्रतियोगितामा सहभागी हुन पुगेका शर्माले विधिपूर्वक सम्पन्न भएको पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत सही ठहर गरेको अवस्थामा यसबारे अन्योलमा पर्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।
उनले विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएको र उक्त निर्णयलाई सर्वोच्च अदालतले बदर नगरेको उल्लेख गरे । उनले भने,‘नेपाली कांग्रेसको सभापति को हो भनेर अलमलिनुपर्ने अवस्था छैन । आवेगमा आएर यता नेमप्लेट राख्ने, उता नेमप्लेट राख्ने, उहाँ पनि सभापति हो, उहाँ पनि कार्यसमिति हो, उहाँ नै पदाधिकारी हो भन्ने कुरा खेलको नियम र विधिभन्दा बाहिरको कुरा हो ।’
उनले खेलको मैदानमा नियम उल्लंघन हुँदा पहेँलो र रातो कार्ड देखाइने उदाहरण दिँदै राजनीतिमा पनि विधि र नियमको पालना हुनुपर्ने बताए ।
उनले भने, ‘खेलको मैदानमा जब कसैले गल्ती गर्छ, पहेँलो कार्ड देखाइन्छ । फेरि गल्ती गर्यो भने रातो कार्ड देखाइन्छ । खेलमा एउटा विधि हुन्छ । नेपाली कांग्रेसको पनि एउटा विधि छ । जसमा महाधिवेशन भयो । विशेष महाधिवेशन पालना गरेर सभापति गगन थापा हुनुभयो ।’
उपसभापति शर्माले राजनीतिलाई पनि खेलको नियमअनुसार सञ्चालन गर्न आग्रह गर्दै विधिभित्र रहेर राजनीतिक गतिविधि अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया