पूर्वप्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता, पूर्वप्रहरी कर्मचारी परिवारलाई उपचारमा सहुलियत


काठमाडौं । पूर्वप्रहरी कर्मचारी, उनीहरूका परिवार तथा विभिन्न कारणले प्रभावित प्रहरी कर्मचारीका परिवारलाई स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध गराउने उद्देश्यले काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल र पूर्वप्रहरी कर्मचारी परिषद् नेपालबीच उपचार सहुलियतसम्बन्धी सम्झौता भएको छ।

शुक्रबार भृकुटीमण्डपस्थित पुलिस हेल्थ क्लबमा आयोजित विशेष कार्यक्रममा काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सोइना शर्मा र पूर्वप्रहरी कर्मचारी परिषद् नेपालका अध्यक्ष पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (अ.प्रा.) रमेशकुमार श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर गरी एक–अर्काबीच आदानप्रदान गरिएको हो।

सम्झौताअनुसार पूर्वप्रहरी कर्मचारी तथा उनीहरूका परिवार, द्वन्द्वपीडित, घाइते तथा अपाङ्गता भएका प्रहरी कर्मचारी र उनीहरूका आश्रित परिवार तथा सहिद प्रहरी कर्मचारीका परिवारलाई काठमाडौं मेडिकल कलेज सिनामंगल, केएमसी दुवाकोट तथा नोबेल शिक्षण अस्पताल विराटनगरमा औषधि उपचार गराउँदा निश्चित सहुलियत उपलब्ध गराइनेछ। त्यस्तै, कोरोना महामारीका क्रममा मृत्यु भएका प्रहरी कर्मचारीका आश्रित परिवारलाई समेत सम्झौताअन्तर्गत उपचार सहुलियत उपलब्ध हुने व्यवस्था गरिएको छ।

पूर्वप्रहरी कर्मचारी तथा उनीहरूका परिवारले लामो समयसम्म प्रहरी संगठनमा गरेको योगदान र सेवाको सम्मान गर्दै स्वास्थ्य उपचारमा सहजीकरण गर्ने उद्देश्यले सम्झौता गरिएको बताइएको छ। विशेषगरी सेवा अवधिमा घाइते, अपाङ्गता भएका तथा द्वन्द्वका कारण प्रभावित प्रहरी कर्मचारी र सहिद तथा कोरोना महामारीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई स्वास्थ्य सेवामा पहुँच सहज बनाउने विषयलाई सम्झौताले प्राथमिकतामा राखेको छ।

कार्यक्रम परिषद्का महासचिव पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (अ.प्रा.) गुप्तबहादुर श्रेष्ठले सञ्चालन गरेका थिए। परिषद्का अध्यक्ष पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक रमेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौं मेडिकल कलेजका सञ्चालक तथा पूर्वमाननीय डा. सुनिलकुमार शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा पूर्वप्रहरी महानिरीक्षकहरू धीरजप्रताप सिंह, दीपककुमार थापा र चन्द्रकुवेर खापुङ विशिष्ट अतिथिका रूपमा सहभागी थिए। त्यस्तै पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक कृष्णहरि शर्मा तथा पूर्वप्रहरी नायब महानिरीक्षकद्वय रूपालशमशेर जबरा र राजेशनाथ वास्तोला, बेलायतस्थित न्यू ह्याम्पसायर पुलिस कन्स्टेबुलरीका सल्लाहकार तथा पूर्वप्रहरी नायब उपरीक्षक शिवजी श्रेष्ठ र काठमाडौं मेडिकल कलेजका व्यवस्थापक केपी शर्मालगायतको उपस्थिति थियो।

कार्यक्रममा परिषद्का उपाध्यक्षद्वय पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक पुष्करनाथ रेग्मी र पूर्वप्रहरी नायब महानिरीक्षक शारदाभक्त रञ्जितलगायत परिषद्का पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो। उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीलाई परिषद्का उपमहासचिव पूर्वप्रहरी नायब निरीक्षक जयन्द्र संग्रौलाले स्वागत गरेका थिए।

सम्झौताले पूर्वप्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवारलाई स्वास्थ्य उपचारमा आर्थिक तथा संस्थागत सहजीकरण पुग्ने विश्वास गरिएको छ। सेवा निवृत्त भएपछि पनि पूर्वप्रहरी कर्मचारी र उनीहरूका परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै निजी स्वास्थ्य संस्थासँग सहकार्य विस्तार गर्ने परिषद्को प्रयासका रूपमा समेत यसलाई हेरिएको छ।

पूर्वप्रहरी कर्मचारीले राष्ट्र र नागरिकको सुरक्षामा आफ्नो सक्रिय जीवन समर्पण गरेका कारण उनीहरूको स्वास्थ्य उपचार तथा सामाजिक सुरक्षामा राज्य, प्रहरी संगठन र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा कार्यक्रममा व्यक्त गरिएको थियो। केएमसीसँगको सम्झौताले उपचारमा सहुलियत प्रदान गर्नुका साथै पूर्वप्रहरी कर्मचारी, घाइते तथा अपाङ्गता भएका प्रहरी, सहिद परिवार र अन्य लक्षित परिवारलाई सम्मान र सामाजिक उत्तरदायित्वको अनुभूति दिलाउने अपेक्षा गरिएको छ।