तथ्यहीन र पूर्वाग्रही अभिव्यक्ति नदिन सांसद सुनारलाई पूर्व-सुरक्षाकर्मीहरुको चेतावनी


काठमाडौँ । सार्वजनिक लेखा समितिको बैठकमा रास्वपाका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूप्रति व्यक्त गरेको अभिव्यक्तिप्रति पूर्व प्रहरी तथा सशस्त्र प्रहरीका पूर्वकर्मचारीहरूले आपत्ति जनाएका छन् ।

नेपाल पूर्वप्रहरी संगठन, पूर्व प्रहरी कर्मचारी परिषद्, पूर्व सशस्त्र प्रहरी संघ तथा सुरक्षा र न्याय अध्ययन केन्द्रले संयुक्त विज्ञप्ति जारी गरी सांसद सुनारको अभिव्यक्ति अमर्यादित, तथ्यहीन र पूर्वाग्रही भएको आरोप लगाएका हुन्।

उनीहरूले उक्त अभिव्यक्तिको भाषा, प्रस्तुति र आशयले संसदीय मर्यादा, पदीय गरिमा, संस्थागत शिष्टाचार तथा व्यावसायिक आचरणको सीमासमेत अतिक्रमण गरेको बताएका छन्।

सार्वजनिक लेखा समितिलाई सार्वजनिक स्रोतको उपयोग, खरिद प्रक्रिया र सरकारी निकायको कार्यसम्पादनमाथि प्रश्न उठाउने अधिकार रहेको स्वीकार गर्दै पूर्वकर्मचारीहरूले तथ्य र प्रमाणका आधारमा प्रश्न उठाउनु तथा राष्ट्रसेवामा समर्पित सुरक्षा अधिकारी वा संस्थाको व्यावसायिक निष्ठामाथि अमर्यादित टिप्पणी गर्नु फरक विषय भएको बताएका छन्।

लोकतान्त्रिक निगरानी तथ्य, प्रमाण, तर्क र मर्यादित संवादमा आधारित हुनुपर्ने उनीहरूको भनाइ छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल कानून कार्यान्वयन, नागरिकको जीवन तथा सम्पत्तिको सुरक्षा र राष्ट्रिय सुरक्षाका संवेदनशील आधारस्तम्भ भएकाले तिनको नेतृत्व, संस्थागत गरिमा र व्यावसायिक मनोबलमा पर्ने प्रतिकूल प्रभावले अन्ततः सार्वजनिक तथा राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

पूर्वकर्मचारीहरूले सुरक्षा निकायको जवाफदेहिता खोज्दा सुरक्षा संवेदनशीलता र संस्थागत मर्यादाको सम्मान गर्नुपर्ने बताएका छन्। सार्वजनिक खरिद वा कार्यसम्पादनमा कमजोरी देखिए निष्पक्ष छानबिन गरी कानूनबमोजिम कारबाही हुनुपर्ने तर छानबिनलाई व्यक्तिगत आक्षेप लगाउने वा सुरक्षा निकायको मनोबल कमजोर पार्ने माध्यम बनाउन नहुने उनीहरूको भनाइ छ।

उनीहरूले गृह मन्त्रालय, संघीय संसद् र सम्बन्धित निकायसँग आगामी दिनमा राष्ट्रिय सुरक्षासँग जोडिएका संवेदनशील संगठनका प्रमुखलाई संसदीय समितिमा बोलाउँदा पदीय गरिमा र व्यावसायिक मर्यादा कायम राख्न माग गरेका छन्।
साथै, सांसद सुनारलाई आफ्नो अमर्यादित व्यवहार सच्याउन र राष्ट्रको सुरक्षामा खटिने संगठनहरूको मानमर्दन हुने गतिविधि रोक्न उनीहरूले आग्रह गरेका छन्।