सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त


सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता खगराज भट्ट नियुक्त भएका छन्।

नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

प्रदेश प्रमुखले शुक्रबार बिहान ११ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिएका थिए। तोकिएको समयभित्रै एमालेको समर्थनसहित भट्टले दाबी पेस गरेका थिए । उनको आजै दिउँसो ३ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।