काठमाडौँ । गणपुरक सङ्ख्या नपुग्दा प्रतिनिधिसभाको मंगलबारको बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुन सकेन । नेपालको संविधानको धारा ९४ अनुसार कुनै पनि प्रश्न वा प्रस्ताव निर्णायार्थ पेस गर्न प्रतिनिधिसभाको एक चौथाइ सदस्य अर्थात् ६९ हुनुपर्नेमा ६१ मात्रै सदस्य भएकाले विधेयक अर्काे मितिमा निणायार्थ पेस गरिने भएको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए ।
बैठकमा सांसद निश्कल राईले गणपुरक सङ्ख्या नपुगेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । तर संख्या नपुगेपछि प्रस्ताव पेस हुन सकेन । त्यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । संसदमा कोरम नपुग्नुमा रास्वपा नै कारण बनेको छ । किनकी १८२ सिट रास्वपाको छ । विगतमा जस्तै अहिले पनि सांसदहरु हाजिर गरेर टाप कसेको भन्दै आलोचना भइरहेको छ । आलोचना भएपछि रास्वपाका केही सांसदले सामाजिक संजालमार्फत माफी मागेका छन् भने केहीले संख्या नपुग्नुको कारण खुलाएका छन् ।
रास्वपा सांसद आशिका तामाङको भनाई
हिजो सदनमा संसदहरुको सङ्ख्या पुगेन रे ?? अब संसदहरू सबै मन्त्रालयको ढोकामा कतिखेर मन्त्री र सचिवलाई भेट्ने अनि गुनासो पोख्ने भनेर लाइनमा हुनुहुन्छ अनि पुग्छ त संख्या ?? सरकार फेरिए पनि प्रधानमन्त्री नयाँ आए पनि काम गर्ने कर्मचारी ले हो मन्त्रालयका सचिवहरूले अब हजुर ३ दिन सक्छौँ हामीले भनेको काम ३ महिना बितिसक्दा पनि दिनमा ३ पल्ट त मन्त्रालय नै काम होला कि तैपनि भनेर धाउनुपर्छ । जनताको गुनासा, मुद्दा सबैभन्दा पहिले कसलाई आउँछ भन्नू पर्दा, निर्वाचित आफ्नो क्षेत्रको सांसदलाई अनि हामी संसदहरूले गुनासो कहाँ लाने भन्दा सम्बन्धित कार्यालय र मन्त्रालय, फोन घुमाउनु पर्यो कोहीको अफ कोहीको ब्यस्त, लागिहाल्यो भने हजुर मन्त्रालय नै आएर मन्त्रीलाई भन्नुस् न भन्नुहुन्छ । जानैपर्यो मन्त्रीलाई waiting room मा एकछिन कुर्नेपर्यो !
किनकी मन्त्रीज्यू अर्को बैठकमा व्यस्त हुनुहुन्छ । अनि एउटा मन्त्रालयमा बल्लतल्ल गुनासो त सकियो अर्को शिक्षा, स्वास्थ्य, कानुन, भौतिक पूर्वाधार इत्यादि गुनासो लिएर सम्बन्धित मन्त्रालय जान त अझै बाकी नै छ । ५ः०० ऊ बजिसक्यो झिमिक्क रात पर्छ, छोराछोरी स्कुलबाट ल्याउने समय पनि सम्झिनै पर्यो ।
हाजिर गर्यो अनि टाप रे ?? सदन भनेको ७ घन्टासम्म ठिक हो । जे बोल्नु पर्ने ठोस ठोस र तथ्यपरक कुरा उठाउने र कार्यान्वयन गर्न निर्देशिका दिने खालको भए पो त अब एउटा प्रतिपक्षले माइक हात पायो भने बोलेको बोलेइ हो सभामुखज्यूले समय सकियो माननीयज्यू भन्दा त मान्नुहुँदैन । नयाँ कुरा केही छैन खाली एउटा कुरा दोहोर्याको दोहोर्याई ! अनि lengthy / boring हुँदैन त ??
रास्वपा सांसद गणेश कार्की
पारित गराउनु पर्ने हामीले नै थियो । संसदमा हामी थोरै भयौँ । थोरै के, कोरम सम्म पुगेन । लाज मान्नु पर्ने ठाउँ यहीँ हो । म आफू दिनभर सदनमा उपस्थित भएको भए पनि अन्यको अनुपस्थितका कारण माफी माग्छु । गनौं भनेर हाम्रो स्वभाव सार्वजनिक गरिदिएकोमा सांसद निस्कल राईलाई धन्यवाद ।
रास्वपा सांसद क्रान्तिशिखा धितालले भनेकी छन्, ‘’सफलताको चुली चुम्न यति छिटो दगुरेछौं कि, जुत्ता फेदीमै छुटेछ ।’

प्रतिक्रिया