माग सम्बोधन नभए पुनः सत्याग्रह सुरु गर्ने डा. केसीको चेतावनी


काठमाडौँ । चिकित्सा शिक्षा अभियन्ता प्रा. डा. गोविन्द केसीले आफ्ना माग तत्काल सम्बोधन नगरे पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।

विज्ञप्ति जारी गरी डा.केसीले साउन ११ गते सरकारसँग भएको सहमति कार्यान्वयन नभएको र स्वार्थको द्वन्द्व भएका व्यक्तिहरूलाई महत्वपूर्ण जिम्मेवारीमा निरन्तरता दिइएको भन्दै आपत्ति जनाएका हुन् । निजी मेडिकल कलेज सञ्चालकहरूले इन्टर्न तथा आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने धम्की दिँदासमेत सरकार मौन बसेको आरोप लगाउँदै उनले राज्य संयन्त्र मेडिकल माफियाको प्रभावमा परेको दाबी गरेका छन् ।

डा. केसीले जारी गरेको विज्ञप्तिमा स्वास्थ्य मन्त्री, शहीद दशरथचन्द मेडिकल विश्वविद्यालयका उपकुलपति तथा रजिस्ट्रार र चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको नियुक्तिमा स्वार्थको द्वन्द्व तथा अयोग्यता देखिएको आरोप लगाइएको छ । सार्वजनिक शिक्षण संस्थालाई कमजोर बनाउने र जेहेन्दार विद्यार्थीका लागि उपलब्ध छात्रवृत्ति कटौती गरी निजी मेडिकल कलेजमा सिट बढाउने उद्देश्यले सरकार र मेडिकल कलेज सञ्चालकबीच साँठगाँठ भएको उनको दाबी छ ।

डा. केसीले स्वास्थ्य मन्त्री, शहीद दशरथचन्द मेडिकल विश्वविद्यालयका उपकुलपति तथा रजिस्ट्रार र चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् र साथै, आयोगका रिक्त निर्देशक पदमा निष्पक्ष र योग्य व्यक्ति नियुक्त गर्नुपर्ने उनको माग छ ।

त्यस्तै, साउन ११ गते भएको सहमति कार्यान्वयन, मेडिकल विश्वविद्यालयको पूर्ण सञ्चालन, ऐन संशोधन, छात्रवृत्ति कटौती फिर्ता र बढाइएको मेडिकल सिट बदर गर्नुपर्ने उनले माग गरेका छन् । निजी मेडिकल कलेजमा बिनामापदण्ड सञ्चालन भइरहेका स्नातकोत्तर, पीएचडी तथा सोसरहका कार्यक्रम बन्द गरी सरकारी शिक्षण संस्था तथा प्रतिष्ठानमा मात्र त्यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले माग गरेका छन् ।

न्यूनतम पूर्वाधार नपुगेका निजी मेडिकल कलेजमा थप गरिएका सिट तत्काल बदर गरी सरकारी शिक्षण संस्थामा क्षमता र पूर्वाधारअनुसार सिट वृद्धि गर्नुपर्ने पनि उनले बताएका छन् ।

निजी मेडिकल शिक्षण संस्थामा भइरहेको भनिएको ठगी र आवासीय चिकित्सकमाथिको श्रम शोषणबारे छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने तथा निर्वाह भत्ता रोक्ने धम्की तत्काल फिर्ता गराउनुपर्ने डा. केसीको माग छ। सरकारले आफ्ना माग र विगतका सहमति बेवास्ता गरे स्थगन गरिएको २४औँ सत्याग्रहसहितको सशक्त आन्दोलन पुनः सुरु गर्ने उनले चेतावनी दिएका छन्।