१५औँ महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि रोक्न गगनलाई शशांक कोइरालाको पत्र


काठमाडौँ । नेपाली कांग्रेसको इतर पक्षले १५ औँ महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि र दीर्घकालीन निर्णयहरू तत्काल रोक्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय र निर्वाचन आयोगलाई पत्र पठाएको छ ।

इतर पक्षको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले मंगलबार आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्र पठाएका हुन् । सर्वोच्च अदालतको निस्सालाई आधार मानेर पार्टीका गतिविधि स्थगित गर्न दुवै निकायलाई कोइरालाले पत्र पठाएका हुन् ।

पत्रमा भनिएको छ, ‘पार्टीको आगामी १५ औं महाधिवेशन वा विशेष महाधिवेशनसम्बन्धी कुनै पनि सांगठनिक, प्राविधिक वा नीतिगत कार्यतालिकाहरू तत्काल स्थगित गरियोस् ।

अदालतको अन्तिम फैसला नआएसम्म पार्टीको तर्फबाट गरिने कुनै पनि दीर्घकालीन प्रभाव पार्ने नीतिगत, राजनीतिक, सांगठनिक वा आर्थिक निर्णयहरू पूर्णरुपमा यथास्थितिमा राखियोस् ।’ सर्वोच्चले साउन २१ गते कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको पुनरावलोकनका लागि अनुमति प्रदान गरेको थियो ।

इतर पक्षले अदालतको फैसला नआएसम्म सम्पूर्ण सांगठनिक संरचनाहरूलाई साबिककै अवस्थामा राख्न पनि माग गरेको छ । कोइरालाले कानूनी राज्यको सिद्धान्त बमोजिम अदालतमा विचाराधीन मुद्दाको अन्तिम परिणामलाई असर पर्ने गरी कुनै पनि गतिविधि नगर्न ध्यानाकर्षणसहित गतिविधि अगाडि बढाइए त्यसबाट सिर्जना हुने कानूनी प्रतिकूलता र अदालतको अवहेलनाको जिम्मेवार सम्बन्धित पक्ष नै हुनुपर्ने चेतावनी दिएका छन् ।