काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. चन्दा कार्कीले सरकारप्रति जनताले प्रश्न उठाउनु स्वाभाविक भएको बताएकी छन् ।
सामाजिक संजालमार्फत कार्कीले राजनीतिक कार्यशैली बदल्ने अपेक्षासहित रास्वपालाई जनताले मत दिएकाले सरकारले पुरानै शैली नदोहोउन प्रश्न गर्नु स्वभाविक भएको बताएकी हुन् । उनले भनेकी छन्, ‘हिजो जनताले पुरानो राजनीतिक कार्यशैली बदल्ने अपेक्षासहित हामीलाई मत दिए । आज त्यही जनताले ‘नयाँ भएर पनि पुरानै शैली नदोहोरियोस् है ?’ भनेर सम्झाउनुपर्ने अवस्था त आएको होइन ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो।’
उनले सरकार फेरिनु मात्र परिवर्तन नभई सत्ता फेरिएसँगै सोच, शैली, जवाफदेहिता र संस्कार पनि फेरिनुपर्ने उल्लेख गरेकी छन् ।
उनले भनेकी छन्, ‘मेरो बुझाइमा, परिवर्तनको असली परीक्षा, चुनाव जित्नुमा होइन, जनादेश पाएपछि आफ्नै काम र निर्णयमाथि प्रश्न गर्न सक्नुमा हुन्छ । जनताले सरकारको नयाँ ‘भर्सन’ डाउनलोड गरिदिएका छन् । अब हाम्रो जिम्मेवारी राजनीतिक संस्कारको ‘सफ्टवेयर’ पनि समयअनुकूल अपडेट गर्नु हो । किनकी सरकार फेरिनु मात्र परिवर्तन होइन, सत्ता फेरिएसँगै सोच, शैली, जवाफदेहिता र संस्कार पनि फेरिनुपर्छ । अन्ततः जनादेश पदका लागि होइन, जनताको विश्वास जोगाउने जिम्मेवारीका लागि हो ।’

प्रतिक्रिया