काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सिंहदरबारको नाम फेर्ने प्रस्ताव गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले कटाक्ष गरेका छन् ।
सामाजिक संजालमार्फत प्रवक्ता श्रेष्ठले जसको मनमा हरि छैन उसको नाम किन हरि राख्ने भन्दै कटाक्ष गरेका छन् । उनले सांसद ढकाललाई आफ्नो नाम गोबर राखे हुन्न भनेर प्रश्न गरेका छन् ।
प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘एउटा उपबुज्रुकले हामीसंग सिंह नै छैन सिंहदरबार किन राख्ने भनेर सिंहदरबारको नाम फेर्नुपर्ने भनेछन् ! जसको मनमा हरि नै छैन उसको नाम चाहिँ हरि ! ? गोबर नाम राखे हुन्न ?’
काठमाडौँमा आइतबार आयोजित एक कार्यक्रममा सांसद ढकालले सिंहदरबारको नाम फेर्ने प्रस्ताव गरेका छन् । उनले राजनीतिक परिवर्तनपछि थुप्रै ठाउँहरूको नाम परिवर्तन भए पनि सिंहदरबारको नभएको भन्दै असन्तुष्टि जनाए ।
उनको भनाई थियो, ‘परिवर्तन पछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो । मतलब एयरपोर्टहरूको, कहाँ–कहाँको नाम फेरिए । तर त्यो सिंहदरबार भन्ने चाहिँ…न हामीसँग सिंह छ, हामीसँग सिंह छैन । त्यो सिंहदरबार भन्ने चिजको नाम परिवर्तन भएन ।’

प्रतिक्रिया