नयाँ पार्टीलाई भोट दिएका मानिसहरू आज सबैभन्दा धेरै असुरक्षित महसुस गरिरहेका छन्ः अध्यक्ष लिङ्देन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा आम नागरिक, निजी क्षेत्र र व्यवसायीहरू असुरक्षित तथा आतंकित अवस्थामा रहेको बताएका छन् ।

शनिबार राप्रपाको काठमाडौं महानगरपालिका नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले दैनिक ज्याला मजदुरी गरेर परिवारको जीविका चलाउनेदेखि आफ्ना छोराछोरीको भविष्य सुरक्षित बनाउने सपना बोकेर मेहनत गरिरहेका नागरिक अहिले सबैभन्दा बढी असुरक्षित भएको दाबी गरेका हुन् ।

उनले भने, ‘मानिस दैनिक ज्याला मजदुरी गरेर आफ्ना छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिने र उनीहरूको भविष्यमा आफ्नो बुढ्यौली दिनहरु सुरक्षित देख्ने परिकल्पनाका साथ रगत पसिना बगाएका र भर्खरै नयाँ चुनावमा नयाँ पार्टीलाई भोट दिएका मानिसहरू आज सबैभन्दा धेरै असुरक्षित भएका छन् । सबैभन्दा बढी आतकिंत भएका छन् ।’

उनले हालैको निर्वाचनमा नयाँ राजनीतिक दललाई मत दिएका आम नागरिकसमेत अहिले निराश र आतंकित रहेकोे बताए । उनले मुलुकमा महँगी बढेको, बजारमा कृत्रिम अभाव सिर्जना भएको र निजी क्षेत्र निराश रहेको दाबी गरे ।

उनले देश गम्भीर भू–राजनीतिक चक्रव्यूहमा फसेको भन्दै यसबारे खुलेर बोल्न सक्ने राजनीतिक शक्ति नदेखिएको बताए । ‘मुलुक भू–राजनीतिको गम्भीर चक्रव्यूमा फसेको छ । कसैले बोल्न सकिरहेका छैनन् । जनता वा देशका लागि हामी छौँ भनेर भन्न सक्ने कुनै राजननीतिक शक्ति देखिरहेको छैन ।’