बाबुराम श्रेष्ठ ।
१. कृतज्ञताका केही शब्दहरु –
गोकर्णमा नेपाली सेनाको मानमर्दन हुने गरि माननीयको अमान्य व्यवहारको बिरुद्धमा मैले यसै फेसबुकवालमा लेखेपछि र बोलेपछि मसंगै धेरै जना जोडिनु भयो । यो दुर्ब्यबहार बिरुद्धमा हामीले उठाएको आवाज धेरै भन्दा धेरै ब्यक्तिहरु माझ पुगोस् भन्ने उद्देश्यले अन्य सञ्चार माध्यम र सामाजिक सञ्जालमा पनि अन्तरवार्ता दिएँ । अधिकांश बहालवाला र अवकाश प्राप्त सबै दर्जाका श्रद्धेय सैनिकहरु लगायत नेपाल आमा, राष्ट्रिय एकता, स्वाधिनता, अखण्डतालाई माया गर्ने आदरणीय गैर-सैनिक शुभचिन्तकहरुले समेत मेरो प्रयास/कदमलाई मन पराईदिनु भयो; “तिमीले बोलेको आवाज हाम्रो पनि हो” भनेर भन्नुभयो र मलाई हौसला प्रदान गर्नुभयो । यसको लागि हजूरहरु सबैलाई अन्तस्करणबाट आभार ब्यक्त गर्न चाहान्छु । ‘सैनिक मर्यादा’ मा रहेर म संस्थाको यशोवृद्धिको लागि र बिकृति/अन्यायको बिरुद्धमा बोलिरहनेछु अनि लेखिरहने छु ।
२. संस्था प्रतिको माया –
म मेरो संस्थालाई हृदयदेखि माया गर्ने सिपाही हुँ । मसँग कार्य गर्नु भएका जति पनि हुनुहुन्छ उहाँहरुलाई पक्कै पनि जानकारी छ । कोही कसैसंग बिमति होला तर मेरो कुनै स्वार्थ छैन । हनुमानले जसरी छाती च्यातेर देखाउन सक्दिन तर हजूरहरुको जस्तै नेपाली सेना मेरो प्राण हो, पहिचान र अस्तित्व हो । मैले मेरो संस्थाप्रतिको दायित्व निभाएको हुँ, हामी सबैले निभाउनु पर्छ । अधिकांश अवकाश प्राप्त सैनिक सरहरु र साथीहरुले नेपाली सेनाको प्रतिष्ठामा आँच आउँदा यसको बिरुद्धमा ऐक्यवद्धता देखाउनु भएको पाउँदा गर्व लागेको छ ।
२. केही सुझावहरु –
‘केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राको सत्यनाश’ भनेको जस्तो उट्पट्याङ्ग पाराले देश चलाएर खाल्डोमा हाल्यो भने हामी त डुब्छौं डुब्छौं हाम्रो भावी सन्तती पनि डुब्नेछन् । नेपाल एकिकरणको लागि बडामहाराजाधिराज स्व. श्री ५ पृथ्वीनारायण शाहको नेतृत्वमा खडा भएको हाम्रो नेपाली सेनालाई ध्वस्त (Dysfunctional) बनाएर स्वार्थको रोटी सेक्ने बिरुद्ध पनि हामीले आवाज उठाउनु पर्छ । महत्वपूर्ण समयमा, महत्वपूर्ण ब्यक्तिले, महत्वपूर्ण काम (Important Time. Important Person & Important Job) गर्नु पर्दछ । उदाहरणको लागि, पानीमा डुबेको ब्यक्तिलाई तत्कालै (Important Time) त्यहाँ भएको ब्यक्तिले (Important Person) पानीबाट निकाल्नु (Important Job) पर्छ । अहिलेको नेपालको अबस्था हाम्रो प्रतिष्ठा माथी आवाज नउठाउने हो भने फुर्सदमा पछुताउनु बाहेक बाँकी केही रहने छैन ।
३. केही गुनासो-
संस्थाले नबोल्दा २०६९ सालमा नेपाल सरकारको ‘सचिव’ भन्दा माथिल्लो मर्यादाक्रम मा रहेको ‘रथी’ को अवमूल्यन भयो; ‘सं.प्र.से.प.’ बाट ‘मुख्य सचिव’ भन्दा तल्लो मर्यादाक्रममा ‘प्र.से.प.’ मा खुम्चनु पर्यो । संस्थाको बिरोध भए पछि घटाइएको सहायक सेनानी, सह-सेनानी, सेनानी, प्रमुख सेनानी र सहायक रथी को तलब/मर्यादाक्रम पुनर्स्थापना भएको इतिहास छ । संस्थाले नबोल्दा हाम्रो संस्थाको विशिष्ट श्रेणीको ‘उपरथी’ दर्जालाई दिदैं आएको रातो पासपोर्ट (Red Passport) को सुबिधाबाट बञ्चित गरियो । अन्य दर्जालाई ‘श्रेणीविहीन’ मा राखिएको छ, निजामती र नेपाली सेनाको दर्जाहरुलाई एकै डालो (Basket) राख्न हुँदैन । परेको बेलामा छातीमा गोली थाप्ने ‘सैनिक’ निःसन्देह ‘निजामती कर्मचारी’ भन्दा पृथक हुन् ।
४. अन्त्यमा –
यस्ता उदाहरणहरु कैयन छन्, बिस्तारै बोल्दै जानेछु । त्यसैले हाम्रो संस्था माथी ब्यक्तिगत वा संस्थागत क्षेत्रबाट बोलिने ‘धावा’ लाई सहेर बस्नु हुँदैन । समयमा नै रोकिएन भने यसको शृङ्खलाबद्ध असर (Domino Effect) हुन्छ । यसमा हामी सबै सचेत हुनु पर्छ भन्ने मेरो आग्रह हो । नहुने, नमिल्ने, अमर्यादित र अशोभनिय चिजहरु माग्नु हुन्न भन्नेमा म स्पष्ट छु यद्यपी संविधान प्रदत्त नैसर्गिग अधिकारबाट नेपाली सेनामा कार्यरत रहेकै कारणले बञ्जित गरिनु हुन्न । जय नेपाली सेना ! जय नेपाल आमा !
श्रेष्ठ नेपाली सेनाका अवकाशप्राप्त उपरथी हुन् ।

प्रतिक्रिया