‘हिन्दू सम्राट सेना’माथि छानबिन गर्न हर्क साम्पाङको माग


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सेना नाम प्रयोग गर्ने समूहमाथि छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले जनकपुरस्थित जानकी मन्दिर परिसरमा आफ्ना कार्यकर्तामाथि भएको कुटपिट घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने र ‘हिन्दू सम्राट सेना’ लगायत सेना नाम प्रयोग गर्ने समूहबारे सरकारले छानबिन गर्नुपर्ने माग गरेका हुन् ।

उनले लिपुलेक नाकाबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न, एलपी ग्यास आपूर्तिमा देखिएको समस्या समाधान गर्न, सहकारी पीडितको बचत फिर्ता गराउन, सुकुम्बासी व्यवस्थापन, जातीय विभेद अन्त्य, युवालाई रोजगारी सिर्जना तथा अनलाइन ठगी नियन्त्रणलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

सरकारले प्रतिपक्षका सुझाव बेवास्ता गर्दा विगतमा धेरै समस्या समाधान हुन नसकेको उल्लेख गर्दै उनले त्यस्तो अभ्यास दोहोरिन नहुने बताए । लिपुलेक नाकाबाट भारत–चीनबीच व्यापार सञ्चालन भइरहेको जानकारी सार्वजनिक भइरहे पनि नेपाल सरकारले यसबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै उनले सरकार स्पष्ट हुनुपर्ने बताए ।

सहकारी ठगीका पीडितले अझै बचत फिर्ता नपाएको उल्लेख गर्दै उनले ठगीमा संलग्न व्यक्तिको सम्पत्तिबाट रकम असुल गरी पीडितलाई तत्काल फिर्ता गर्न सरकारसँग माग गरे। धरानस्थित बझा बचत तथा ऋण सहकारीका पीडितलाई पनि न्याय दिलाउनुपर्ने उनले बताए।