विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीद्वारा मन्त्री पोखरेल समक्ष शपथ


काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा. डा. खड्गबहादुर केसीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अध्यक्ष केसीलाई शपथ गराएका हुन्। त्यसपछि मन्त्रीको उपस्थितिमा अध्यक्ष केसीले सचिव प्रा. डा. रोजी श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथग्रहणपछि मन्त्री पोखरेलले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, विश्वविद्यालय सुधार तथा संस्थागत पुन:संरचनालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे। विश्वविद्यालय सुधारका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए ।

नवनियुक्त अध्यक्ष केसीले विश्वविद्यालयको नीतिगत र संरचनागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सचिव श्रेष्ठले पनि आफ्नो कार्यकालमा विश्वविद्यालय अनुदान आयोगलाई थप प्रभावकारी बनाउँदै उच्च शिक्षाको सुधारका लागि जिम्मेवारीपूर्वक काम गर्ने बताइन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा प्रा. डा. केसी र सचिवमा प्रा. डा. श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो । प्रा. डा. केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुन् । त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा. डा. केसरजंङ बरालले राजीनामा दिएपछि उनले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए।

अन्तरराष्ट्रिय सम्बन्ध, भू-राजनीति तथा नेपालको परराष्ट्र नीतिका विज्ञका रूपमा परिचित केसीले त्रिभुवन विश्वविद्यालयबाट अन्तरराष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पिएचडी) गरेका छन् । उनी तीन दशकभन्दा बढी समयदेखि अध्यापन, अनुसन्धान र शैक्षिक नेतृत्वमा सक्रिय रहेका छन् ।

आयोगकी नवनियुक्त सचिव प्रा. डा. श्रेष्ठ नेपालमा नर्सिङ विषयमा विद्यावारिधि (पिएचडी)गर्ने पहिलो नेपाली हुन् । उनले त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नर्सिङमा विद्यावारिधि हासिल गरेकी छिन् । नर्सिङ अनुसन्धानमा उल्लेखनीय योगदान पुर्‍याएबापत उनी ‘नेपाल विद्या भूषण’ पदकबाट सम्मानित भएकी थिइन् भने नेपालमा नर्सिङ विषयमा पहिलो विद्यावारिधि गर्ने शोधकर्ताका रूपमा दीक्षान्त समारोहमा प्रधानमन्त्रीबाट विशेष सम्मानसमेत प्राप्त गरेकी थिइन् ।