-कर्णबहादुर थापा ।
एक समय थियो, पार्टी अभ्यक्ष केपी शर्मा ओली पार्टी भित्र निकै कमजोर हुनुहुन्थ्यो, कतिपय सन्दर्भमा अपमानित पनि । त्यसबेला जेएन थपलिया सगरमाथा भन्दा उँचो विश्वास र आस्थाका साथ गाउँ बस्ती, विद्यालय विश्वविद्यालय, गरिव किसान र देशका मुर्धन्य विद्वान विदुशी बीच केपीको पक्षमा दृढतापूर्वक बहस गर्नुहुन्थ्यो । पाँचौदेखि एघारौं महाधिवेशनका सबै मञ्चहरूमा जेएनले केपीको पक्ष कहिल्यै छोड्नु भएन । पार्टी काममा सधैँ पहाड जस्तो दृढ भएर उभिँदै आउनु भो । न कुनै लोभ चालचले उहाँलाई लोभ्याउन सक्यो न कुनै शक्तिको त्रासले अत्याउन र झुकाउन सक्यो ।
म सम्झन्छु, आठौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा धेरै नेताहरू केपीको पक्षमा उभिने आँट नगरिरहेको बेला बागमतीबाट केपीको पक्षमा उभिनेमध्ये एक महत्त्वपूर्ण पात्र जेएन थपलिया पनि हुनुहुन्थ्यो । म त्यही महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित भएँ, जेएन हुन सक्नु भएन । केपी अध्यक्षमा पराजित हुनुभो । झलनाथ खनाल अध्यक्ष बन्नुभो । त्यसपछि चितवनँग अलिबढी भावनात्मक रूपमा गासिन पुगेँ म । आठौदेखि नवौँ महाधिवेशनको करिव ५ वर्षको अन्तर संघर्षमा जेएन थपलिया केपी कमरेड र पार्टीको पक्षमा दृढतापूर्वक लड्नु भो । उहाँको आस्था र विश्वास कहिल्यै ढलेन ।
पार्टीभित्र लोकतन्त्र मारिएको, मूल्यांकन प्रणाली समाप्त पारिएको, मनपरितन्त्रले सीमा नाँघेको सहन नसकी जेएन थपलिया गुण्डुमा लड्नु भएछ । त्यहीबेला केही पदधारी र केही पदका प्यासीहरूले जेएनको खिसिटिउरी, अपमान र उपहास पनि गरेछन् ।
गुण्डुमा जेएनको शरीर ढलेको होइन, त्यहाँ त एउटा राजनीतिक आस्था र विश्वास ढालिएको हो । एउटा संघर्षको इतिहास ढालिएको हो । उहाँलाई गरिएको अपमान त्याग, निष्ठा र बलिदानको इतिहासलाई गरिएको अपमान हो । यो घटना पार्टी भित्रको अत्याचारको पराकाष्ठाको रूपमा लेखिनेछ । सत्ताका मठाधीश र भक्तहरूलाई म भन्न चाहन्छुः जब आस्था र विश्वास घृणामा बदलिन्छ र घृणाले विद्रोहको रूप लिन्छ, त्यसबेला अत्याचारीहरूले अकल्पनीय दण्ड भोग्नुपर्छ । त्यो दिन धेरै टाढा छैन ।
(थापा नेकपा एमालेका नेता हुन् ।)

प्रतिक्रिया