बीबीसी । विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगितामा निजी लगानीकर्ता भित्राउने विवादास्पद योजनामा भएका त्रुटिप्रति माफी मागेका छन्। तर, वरिष्ठ पदाधिकारीहरूको समर्थन प्राप्त गरेपछि उनी फिफा अध्यक्षकै रूपमा रहने भएका छन् ।
बढ्दो आलोचनाबीच इन्फान्टिनोले बुधबार मोरक्कोको राजधानी रबाटस्थित फिफाको अफ्रिका कार्यालयमा व्यवस्थापन बोर्डको बैठक बोलाएका थिए। बैठक सम्पन्न भएको चार घण्टापछि फिफाले विज्ञप्ति जारी गर्दै इन्फान्टिनोप्रति व्यवस्थापन बोर्डले पूर्ण समर्थन जनाएको जानकारी दिएको हो।
यसअघि युरोपेली फुटबल महासंघ (यूईएफए) ले इन्फान्टिनोप्रति विश्वास गुमाएको जनाउँदै ‘फिफा फरवार्ड इन्टरप्राइज (एफएफई)’ प्रस्तावलाई अपारदर्शी र बन्द कोठामा गरिएको सम्झौताको संज्ञा दिएको थियो।
फिफाभित्रैबाट पनि प्रस्तावको आलोचना भएको थियो। महासचिव माटियास ग्राफस्ट्रोमले कर्मचारीलाई पठाएको आन्तरिक सन्देशमा घटनाक्रमलाई ‘दुःखद र निन्दनीय’ बताएका थिए। तर, बुधबारको बैठकपछि उनी र व्यवस्थापन बोर्डले संयुक्त रूपमा इन्फान्टिनोप्रति पूर्ण समर्थन दोहोर्याएका छन्।
इन्फान्टिनो र ग्राफस्ट्रोमले फिफाका उपाध्यक्ष, परिषद् सदस्य तथा २११ सदस्य राष्ट्रका फुटबल संघहरूलाई संयुक्त पत्र पठाउँदै आफूहरूबाट भएका त्रुटिप्रति इमान्दारीपूर्वक माफी मागेका छन्। भविष्यमा यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता पनि पत्रमा जनाइएको छ।
इन्फान्टिनोले नयाँ सहायक संस्था ‘फिफा फरवार्ड इन्टरप्राइज’ मार्फत पुरुष र महिला विश्वकपसहितका प्रतियोगितामा निजी लगानी त्रिाउने प्रस्ताव अघि सारेका थिए। प्रस्तावको समर्थन गर्ने प्रत्येक सदस्य संघलाई ४ करोड अमेरिकी डलर उपलब्ध गराउने योजना पनि सार्वजनिक भएको थियो।
फिफाले बैठकमा उक्त प्रस्तावसम्बन्धी प्रक्रियामा त्रुटि भएको स्वीकार गर्दै परिषद् र सदस्य संघहरूले आफूहरूलाई प्रक्रियाबाट बाहिर राखिएको महसुस गर्नु नहुने जनाएको छ। प्रस्ताव सार्वजनिक भएपछि सञ्चारमाध्यममा आएको प्रतिक्रियाको व्यवस्थापनमा समेत कमजोरी भएको स्वीकार गरिएको छ।
यद्यपि, फिफाले आफ्नो इमानदारी, सुशासन र विधिसम्मत प्रक्रियामाथि हुने कुनै पनि आक्रमण अब सहन नसकिने चेतावनी दिँदै संस्थाको प्रतिष्ठा जोगाउन आवश्यक सबै कदम चालिने जनाएको छ।
यसैबीच, इन्फान्टिनोले मोरक्कोलाई समर्थनको बदलामा सन् २०३० को विश्वकप फाइनल आयोजना गर्ने आश्वासन दिएको भन्ने समाचारलाई पनि फिफाले अस्वीकार गरेको छ। फिफाले उक्त दाबीलाई भ्रामक र असत्य भन्दै स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपको फाइनल खेल कहाँ हुने भन्ने निर्णय उचित समयमा गरिने जनाएको छ।

प्रतिक्रिया