काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको विषयमा व्यवसायीसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधान लागि सम्बद्ध मन्त्रालय, विभाग, उद्योगी तथा ग्यास वितरण व्यवसायीलगायतको भूमिकाबारे मंगलबार समीक्षा गरिएको थियो ।
छलफलका क्रममा व्यवसायीहरूले बजारमा हल्ला चलेजस्तो ग्यासको अभाव नभएको बताए । पश्चिम एशियाको द्वन्द्वपछि ग्यास आपूर्ति सहज गर्न सरकारले सात दशमलव एक किलोग्रामको आधा सिलिन्डर दिने गरेकोमा पुनः १४ दशमलव दुई किलोग्रामको भरी सिलिन्डर वितरण सुरु गर्दा बजारमा एकाएक माग बढेको व्यवसायीहरूको दाबी थियो ।
मुख्य सचिव कार्कीले ग्यास अभावको दीर्घकालीन समस्या समाधानका लागि सरोकारवालासँग आगामी दिनमा पनि छुट्टै ढङ्गले छलफल जारी राख्न बताए।
एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले व्यवसायीहरूले पहिलेभन्दा बढी ग्यास आयात गरिरहेको भए पनि उपभोक्ताहरूले आवश्यकभन्दा बढी भण्डारण गर्ने गरेकाले समस्या निम्तिएको बताए ।
“विगत छ महिनामा नियमित खपतको तुलनामा करिब ४५ हजार मेट्रिक टन कम ग्यास आयात भएको र उक्त अवधिभर सात दशमलव एक केजीको आधा सिलिन्डर प्रयोग गरिएकाले उपभोक्तामा ग्यास अभाव हुन सक्ने मनोविज्ञान बनेको र अहिले सबैले एकैपटक भरी सिलिन्डर लिन खोज्दा बजारमा अभाव देखिएको हो”, उनले भने । आगामी तीन महिनासम्म प्रत्येक महिना ५५ देखि ६० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्न समाधान हुने उनको भनाइ छ ।
बैठकमा ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा वितरणलाई थप प्रभावकारी, नियमित र सहज बनाउन सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय तथा व्यवस्थापनलाई तीव्रता दिनेबारे निर्णय भएको थियो ।
सङ्घका अनुसार गत अप्रिल र मे महिनामा कोटाभन्दा निकै कम ग्यास आयात भएकाले अहिले समस्या आएको हो । गत अप्रिलमा ५१ हजार २८२ कोटामध्ये ३४ हजार ०८१ मेट्रिकटन ग्यास आयात भएको थियो भने मे महिनामा ४९ हजार ५०० कोटामध्ये २८ हजार ५०४ मेट्रिकटन ग्यास आयात भएको थियो ।
छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वीरेन्द्रकुमार यादव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी, सहसचिव नेत्रप्रसाद सुवेदी, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी, नेपाल आयल निगमका कार्यकारी निर्देशक दीपक बराल, ग्यास उद्योगीहरूको छाता सङ्गठनका पदाधिकारी तथा उद्योगी कृष्णभक्त श्रेष्ठ, सुरेन्द्रराज पौड्याल, अमित अग्रवाल, रुद्रप्रसाद कोइरालालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया