काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनप्रति जनताको घट्दो आकर्षणको कारण खोजी गर्दै कमजोरी सच्याएर नयाँ विश्वासका साथ अघि बढ्नुपर्ने बताएका छन् ।
सोमबार २४औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपालले पार्टीले गरेका सकारात्मक कामसँगै आफ्ना कमजोरीहरूको पनि समीक्षा गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘हामीले गरेका राम्रा काम के छन्, त्यसको पनि समीक्षा गरौं । हामीबाट भएका कमजोरीहरू के छन्, त्यसको पनि खोजी गरौं । कमजोरीका कारण कतै जनतामा निराशा बढेको छ, कम्युनिष्ट पार्टीप्रतिको आकर्षण घटेको छ । यसको खोजी गर्ने काम गरौं । त्रुटि सच्याउने साहस गरौं। धुलो टकटक्याएर फेरि उठौं । हामी सबै चुनौतीको सामना गर्न सक्छौं भन्ने नयाँ विश्वासका साथ अगाडि बढौं ।’
नेपालले कम्युनिष्ट पार्टी व्यक्तिपूजाभन्दा नीति, विचार र सिद्धान्तमा आधारित हुनुपर्ने बताए । उनले नेताहरूको चाकडी र जयजयकार गर्ने प्रवृत्तिको अन्त्य गर्न आग्रह गर्दै पार्टीभित्र नीतिगत बहस र वैचारिक प्रतिबद्धतालाई प्राथमिकता दिनुपर्ने बताए ।

प्रतिक्रिया