चितवन । होटल एसोसिएसन नेपाल (हान) बागमती प्रदेश तदर्थ समितिको चितवनको सौराहामा सम्पन्न संयुक्त बैठकले चितवनको पर्यटन क्षेत्रका सम्भावना, चुनौती र समाधानका उपायबारे गहन छलफल गरेको छ। बैठकमा पर्यटनलाई दिगो, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
चितवन हानका अध्यक्ष ओम पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकमा हान बागमती प्रदेश तदर्थ समितिका अध्यक्ष तथा पर्यटन व्यवसायी रामसुन्दर बकेले पर्यटन व्यवसायलाई समयानुकूल रूपान्तरण गर्न प्रविधिमैत्री सेवा विस्तार, डिजिटल सूचना प्रणालीको विकास, सेवा गुणस्तर अभिवृद्धि तथा व्यवसायीबीच समन्वयलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए। उनले सरकारले हात्ती सफारी सञ्चालनमा लगाएको प्रतिबन्धप्रति असन्तुष्टि जनाउँदै वन्यजन्तु संरक्षण र पर्यटन प्रवर्द्धनबीच सन्तुलन कायम हुने गरी दीर्घकालीन तथा व्यवहारिक समाधान खोज्नुपर्ने धारणा राखे। साथै, चितवनको पर्यटनलाई नयाँ उचाइमा पुर्याउन सरकार र निजी क्षेत्रबीच विश्वासमा आधारित सहकार्य अपरिहार्य रहेको बताए।
बकेले कानुनी रूपमा सञ्चालनमा रहेका होटल तथा पर्यटन व्यवसायको संरक्षण, व्यवसायीहरूको हकहित प्रवर्द्धन, पर्यटनमैत्री नीति निर्माण तथा आवश्यक कानुनी सुधारका लागि तदर्थ समिति सक्रिय रूपमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।
बैठकमा सहभागी पर्यटन व्यवसायीहरूले चितवनलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटन गन्तव्यका रूपमा थप स्थापित गर्न पूर्वाधार विकास, गुणस्तरीय सेवा, आधुनिक प्रविधिको अधिकतम प्रयोग, प्रभावकारी प्रवर्द्धन तथा निजी क्षेत्रको मनोबल अभिवृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रमका अध्यक्ष ओम पाण्डेले चितवन नेपालको प्रमुख पर्यटन गन्तव्य भएकाले यसको अपार सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न स्थानीय सरकार, निजी क्षेत्र तथा पर्यटनसँग सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेको बताए। उनले दिगो पर्यटन विकासका लागि साझा प्रतिबद्धता र योजनाबद्ध कार्यान्वयनमा जोड दिए।

प्रतिक्रिया