मेरो कारणले संघीयतामा कुनै खतरा हुन्छ भन्ने नसोच्न मधेशकेन्द्रित दलका नेताहरुलाई प्रधानमन्त्रीको अनुरोध


काठमाडौं । प्रधानमन्त्री बालेन साहले मधेस प्रदेशका नेताहरूसँग पछिल्लो समय देखिएको हिंसात्मक घटनाक्रम र सामाजिक सद्भावको विषयमा छलफल गरेका छन् ।

शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीले नेताहरुसँग छलफल गरेका हुन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसमा फैलिँदै गएको तनाव रोक्न राज्यले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् ।

महतोले केही दिनअघि आफूहरूले आठ बुँदे निर्णय गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जानकारी गराएको र आज प्रधानमन्त्रीलाई समेत त्यसबारे अवगत गराएको बताए ।
उनले भने, ‘यो घटना मधेसमा आगोको रूपमा फैलिरहेको छ, त्यसलाई रोक्नुपर्छ । राज्यले रेस्पोन्स नगरेपछि यो रोकिँदैन ।’

उनले कुनै पनि घटनाले साम्प्रदायिक स्वरूप लिन नहुने भन्दै सामाजिक सद्भाव कायम गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । छलफलमा प्रधानमन्त्रीले आफूलाई संघीयताविरोधीको रुपमा नलिन मधेशकेन्द्रित दलका नेताहरूलाई आग्रह गरेका थिए ।

प्रधानमन्त्रीको भनाई उदृत गर्दै महतोले भने, ‘मलाई संघीयताविरोधी सपनामा पनि नसोच्नुहोला । प्रदेश बलियो बनाउने हो । संरचनाहरूमा सुधार गर्ने कुरा मात्र गरेको हो ।’

उनले आफ्नो कारणले संघीयतामा कुनै खतरा हुन्छ भन्नेमा नसोच्न अनुरोध गरेका थिए । यस्तै, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्रीले पहिलो पटक मधेस केन्द्रित दलहरूलाई बोलाएर छलफल गर्नु सकारात्मक कदम भएको प्रतिक्रिया दिएका छन् ।

उनले सुनसरीमा भएको घटना र त्यसपछि फैलिएको हिंसाका विषयमा प्रधानमन्त्रीले छलफल आयोजना गरेको भन्दै यसलाई सकारात्मक रूपमा लिएको बताए ।

‘हामीले हिंसा रोकिने र सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेका छौँ । यसलाई छिटपुट घटनाका रूपमा मात्र लिनुहुँदैन,’ राउतले भने ।

उनले संघीयता लगायतका विषयमा समेत छलफल भएको जानकारी दिँदै आफूहरूले दिएका सुझाव कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।