काठमाडौँ । नेपाली कम्युनष्टि पार्टी(नेकपा)का नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई थिति बसाउने नाममा चालिने कदमहरू सधैँ विधिसम्मत र संविधानको परिधिभित्र रहेर गर्न आग्रह गरेका छन् ।
आइतबार चितवनको भरतपुरमा रास्वपाको पहिलो महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुनले नयाँ पुस्ताको राजनीतिले जनतामा आशा जगाएको भए पनि पद्धतिभन्दा बाहिर नजान सुझाव दिए ।
उनले भने, ‘थिति बसाउन चालिएका कदमहरू विधिसम्मत हुनुपर्छ र संविधानभन्दा बाहिर नहोस् भन्नेमा यहाँहरूको पर्याप्त ध्यान पुगोस् ।’
उनले नेपाली समाजको रूपान्तरणको यात्रा सहज नभएको र ठूलो बलिदानको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गराए । पुनले रास्वपा र नेकपाबिच पृष्ठभूमि र काम गर्ने शैली फरक भए तापनि सुशासन र समाज रूपान्तरणको एजेन्डामा धेरै समानता रहेको उल्लेख गरे ।
उनले भने, ‘हामी सुशासनको पक्षमा छौँ र विगतमा हामीले सहकार्य पनि गरेका छौँ । अन्य दलहरूको तुलनामा रास्वपा र नेकपाबिच धेरै विषयमा सहकार्य भएको छ, थिति बसाउने यहाँहरूको एजेन्डामा हाम्रो साथ रहनेछ ।’
पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लिने नीति र महाधिवेशनबाट चयन गर्ने नेतृत्वले पार्टीका लागि मात्र नभएर देशकै लागि महत्त्व राख्ने बताए ।
उनले भने, ‘दलहरू लोकतन्त्रका खम्बा हुन् । जनमतको प्रतिनिधित्व दलहरूले नै गर्ने हो । हिजो जनमत हामीसँग थियो । आज रास्वपासँग छ । जनताले चाहेमा दललाई सबै अधिकार दिन पनि सक्छन् र जनमतबाटै खोस्न पनि सक्छन् ।’

प्रतिक्रिया