रमेशनाथ पाण्डे
नौ वर्षपछि भएको अमेरिकी राष्ट्रपतिको चीन भ्रमणले विश्वका दुई सर्वाधिक आर्थिक र एआई महाशक्तिहरु अमेरिका र चीनबीच स्थिर सम्बन्ध शुरु गर्न खोजेको छ । नयाँ दुई ध्रुविय विश्व व्यवस्था प्रारम्भको यो लक्षण हो । यसैले तीव्र आर्थिक, प्राविधिक र भूराजनीतिक प्रतिस्पर्धी दुई महाशक्तिहरु बीच भएको यो नयाँ समझदारीले विश्वभरी नै हलचल ल्याएको छ ।
राष्ट्रपति ट्रम्पको शब्दमा ‘विश्व शताब्दीमा एकपटक हुने रूपान्तरणबाट गुज्रिरहेको’ संक्रमणकालमा आफ्नो अन्तराष्ट्रिय सम्बन्धको समायोजन वा पुनरसमायोजन गर्न र कूटनीतिक सिपमा धार लगाउन नेपाल चुक्नु हुँदैन । पछिल्ला २५ वर्षदेखि भारतको भूराजनीतिक रणनीतिक सोचमा चीन–अमेरिका सम्बन्ध निर्णायक पक्ष रहेको थियो । अब यो नरहने अवस्था बन्न थालेको छ । यसले भारतको सामरिक चिन्तन, आड लिइरहेको गुरुत्वाकर्षण तथा छिमेकीहरुसँगको सम्बन्ध र व्यवहारमा प्रभाव पार्नेछ । भारत, चीन र अमेरिकाको सामरिक राडारमा परेको नेपालमा यसको कूटनीतिक दबाब र राजनीतिक गर्मी विगत केही वर्षदेखि बढिरहेको छ ।
चारवर्ष अघिमात्रै यसको पोल्ने राप सार्वजनिकरूपमा नै महसुस भएको बिर्सनु हुँदैन । अहिले रूपान्तरणको चरणमा प्रवेश गरेको अन्तराष्ट्रिय सम्बन्धमा भारत, चीन र अमेरिकाको सामरिक चिन्तनमा नेपालको महत्व र जटिलता अझै बढ्ने छ । सतर्क, संयमी र अनुभवबाट सिद्ध कूटनीति र व्यवहार नै नेपालको लागि हितकर गुरूमन्त्र हो । प्रधानमन्त्री बालेनलाई अन्तराष्ट्रिय सद्भावनाको बलियो आड प्राप्त छ । यसलाई खेर जान दिनु हुँदैन । दूरगामी महत्वको परिवर्तनतिर उन्मुख विश्वमा यो संवेगको सदुपयोग नेपालको हितमा हुनेछ ।

प्रतिक्रिया