बीआरआईमा चीनको जोड


काठमाडौँ । चीनले नेपाललाई भूपरिवेष्ठित देशबाट भू–जडित देशमा रूपान्तरण गर्न मद्दत गर्न तयार रहेको बताएको छ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग चिनियाँ समकक्षी वाङ यीले यस्तो बताएका हुन् ।

सोमबार भएको भेटमा चिनियाँ समकक्षीले उच्च गुणस्तरको बेल्ट एन्ड रोड(बीआरआई) सहकार्य अघि बढाउन र नेपाललाई भूपरिवेष्ठित देशबाट भू–जडित देशमा रूपान्तरण गर्न मद्दत गर्न तयार रहेको बताएका हुन् । त्यस्तै वाङले नेपाल र नेपाली जनताप्रति चीनको मैत्रीपूर्ण नीति रहेको उल्लेख गर्दै बेइजिङले आफ्नो छिमेकी कूटनीतिमा काठमाडौंसँगको सम्बन्धलाई सधैं महत्त्वपूर्ण स्थानमा राखेको बताएका छन् ।

वाङले चीनले नेपालको नयाँ सरकारले जनताको साथ र समर्थनसहित सुशासन सञ्चालन गर्ने र त्यसमा चीनको समर्थन रहने पनि बताएको चाइना डेलीमा उल्लेख छ।

चिनियाँ पक्षले नेपालमा चीनका मूल चासोका विषयहरू ताइवान र तिब्बतसम्बन्धी मुद्दा रहेको र त्यसमा चीनप्रति नेपालको दृढ प्रतिबद्धता र दृढ समर्थन रहेकोमा चीनले प्रशंसा गरेको पनि समाचारमा उल्लेख छ।

वाङले दुवै पक्षले विभिन्न सहयोग मञ्च र संयन्त्रहरूको सदुपयोग गर्नुपर्ने, व्यावहारिक सहयोगलाई थप घनिभूत बनाउन र जनस्तरको आदानप्रदानलाई प्रवद्र्धन गर्न पनि आह्वान गरेका थिए।

चिनियाँ कम्पनीहरूलाई नेपालमा लगानी गर्न र व्यापार व्यवसाय गर्न प्रोत्साहन गर्ने बताउँदै चिनियाँ परराष्ट्रमन्त्रीले नेपालले त्यसका लागि व्यापारिक वातावरण प्रदान गर्ने आशा व्यक्त गरेका छन्। वाङले दुवै पक्षले बहुपक्षीय मामिलाहरूमा समन्वय बढाउनुपर्ने र विकासोन्मुख देशहरूको साझा हितको संरक्षण गर्नुपर्ने बताएका थिए।

परराष्ट्रमन्त्री खनालले नेपालको नयाँ सरकार जनताकेन्द्रित विकासप्रति प्रतिबद्ध रहेको र असंलग्न परराष्ट्र नीति अपनाइरहने बताएका छन् ।
चीनले नेपालको राष्ट्रिय विकास र जनजीवनको सुधारमा दिँदै आएको दीर्घकालीन सहयोगप्रति धन्यवाद व्यक्त गर्दै चीनले सधैं नेपाललाई समान हैसियतमा व्यवहार गरेको र यसको सार्वभौमसत्ता र स्वतन्त्रताको सम्मान गरेकोमा पनि परराष्ट्रमन्त्री खनालले आभार व्यक्त गरेको चाइना डेलीले लेखेको छ।

परराष्ट्रमन्त्री खनालले ताइवान र तिब्बतसम्बन्धी मुद्दाहरू चीनको आन्तरिक मामिला भएकोमा नेपाल स्पष्ट रहेको र नेपाल एक चीन नीतिमा दृढतापूर्वक अडिग रहेको उल्लेख गरेका छन् ।