काठमाडौं । ५ अगस्टमा उत्तराखण्डको पहाडी गाउँ धरालीमा एक्कासी आएको बाढी र पहिरोका कारण उत्तरकाशी क्षेत्रमा भीषण विनाश भयो, जसले जनधनको ठूलो क्षति गरायो । अझै पनि उद्धार कार्य जारी छ । यसैबीच नेपालबाट गएका प्रवासी मजदुर काली देवी र उनका श्रीमान् विजय सिंहले त्यो त्रासदीपूर्ण अनुभव शेयर गरेका छन् । उनीहरूले बताएअनुसार, कसरी उनीहरू आफैं त ज्यान जोगाउन सफल भए तर वरिपरिका धेरै मानिसहरूले ज्यान गुमाए ।
विजय सिंहले आफ्नो हराइरहेका छोरासँगको दुई मिनेट लामो फोन वार्तालाई सम्झिए, जुन अत्यन्तै भावुक र तनावपूर्ण थियो। उनले भने, ‘घाटीमा बादल फाटेर आएको बाढी र पहिरोपछि मेरो छोरा सम्पर्कविहीन भयो। त्यो फोन कुराकानी घटनाको केही क्षणअघि मात्र भएको थियो।’
एनडिटिभीका अनुसार सिंहले भने, ‘उसले मलाई भन्यो -पापा, हामी बच्दैनौं, नालामा धेरै पानी आएको छ।’ सिंह नेपालबाट आएका २६ जना मजदुरहरूको एउटा समूहमा थिए, जो उक्त घाँटीमा सडक र पुल निर्माणको काममा संलग्न थिए ।
काली देवीले भनिन्, ‘जब हामी त्यो घाटीबाट निस्कियौं, हामीले कहिल्यै यस्तो विपत्तिको कल्पना गरेका थिएनौं। यदि मलाई बाढी आउने थाहा भएको भए, म कहिल्यै आफ्ना बच्चाहरूलाई त्यहाँ छोड्दिनथें।’
उनी श्रीमानसँगै गंगावाडीसम्म पैदल पुगेकी थिइन्, जुन हर्षिल घाटी पुग्ने बाटो हो । तर, जब थाहा भयो कि भागीरथी नदीमा बनेको सीमा सडकको एउटा महत्त्वपूर्ण पुल बाढीले बगाएको छ, त्यसपछि उनीहरू फर्किन बाध्य भए ।
उनले थपिन्, ‘म सरकारसँग अनुरोध गर्छु, कृपया हामीलाई हर्षिल घाटीसम्म पुर्याइयोस्। हामी आफैंले आफ्ना बच्चाहरू खोज्नेछौं।’ उत्तरकाशीमा हाल पनि राहत तथा उद्धार कार्य जारी छ। अधिकारीहरूका अनुसार कम्तीमा ७० जना नागरिकलाई उद्धार गरिएको छ भने तीन जनाको मृत्यु पुष्टि भइसकेको छ ।
भारतीय सेनाका अनुसार, एक जुनियर अफिसर र आठ जना सैनिक अझै हराइरहेका छन्। उद्धार प्रयासपछि ९ जना सैनिक र ३ जना नागरिकलाई उपचारका लागि हेलिकप्टरमार्फत देहरादून लगिएको छ । त्यसैगरी, गम्भीर घाइते तीन जना नागरिकलाई एम्बुलेन्समार्फत एम्स ऋषिकेश पुर्याइएको छ, भने अन्य आठ जनाको उत्तरकाशी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । काली र विजय नेपाली भएपनि उनीहरुको ठेगाना खुलेको छैन ।

प्रतिक्रिया