बाजुरामा वर्षासँगै हिमपात
बाजुरा । बाजुरामा गएरातिबाट वर्षासँगै हिमपात सुरु भएको छ । हिमाली जिल्लाका रुपमा रहेको बाजुरामा मौसम बदली भएर वर्षा आएपछि हिमताप पनि लेकाली भेगमा सुरु भएको हो । हिमपात सुरु भएसँगै जिल्लाभर चिसो बढेको छ ।
यहाँका हिमाली गाउँपालिकाको विच्छ्या, रुगिन, बाँधु, स्वामीकार्तिको जुकोट, जगन्नाथ गाउँपालिकाको गोत्री क्षेत्रमा हिमपात भएको छ । यसैगरी गौमुलको दहकोट, मानाकोट, बुढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहको काँडा, जयवागेश्वरी, बडीमालिका रजाली, मार्तडी, ढम्कनेलगायत क्षेत्रका अग्ला भागहरुमा हिमपातले डाँडाहरु सेताम्मे भएका छन् ।
यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका, पोरखे लेक, कालाजग्रा, दह डाँडा, बडालेख, खप्तड राष्ट्रिय निकुञ्जमा पनि हिमपातले छोपेको छ । वर्षासँगै हिमपात भएपछि कृषकहरु खुसी भएका छन् । गहुँ बालीमा पानी नपर्दा सुक्न थालेका बेला वर्षा आएपछि किसानहरुलाई राहत पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
हिमपातका कारण लेकमा बसेका घोरल, मृग र विभिन्न प्रजातीका जनावरहरु चिसोबाट बच्न न्यानो खोज्दै गाउँ पस्ने भएपछि चोरी सिकारीको सम्भावना बढेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ ।
वन्यजन्तु चोरी सिकारी नियन्त्रणका लागि सुरक्षा निकायसँग समन्वय भइरहेको वन कार्यालयले जनाएको छ ।