अध्यक्ष लिङ्देनको प्रश्नः रुसी सेनामा भर्ती भएका नेपालीलाई कहिले फिर्ता ल्याउने ?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मिटरब्याजपीडित, लघुवित्त पीडित, दुग्ध उत्पादक किसान सडकमा रहेका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले बैंक तथा वित्तीय क्षेत्रका समस्या, नेपाली युवा रुसी सेनामा भर्ना भइरहेकामा उनीहरुलाई फिर्ता बोलाउन प्रक्रिया थाल्नेलगायत विषयमा सरकारले जवाफ दिनुपर्ने बताए । उनले संसद बैठक कर्मकाण्डको लागि मात्रै चलाइराख्नुको कुनै औचित्य नभएको बताए ।
उनले भने, ‘ रसियन सेनामा भर्ती भएका नेपालीहरुको बारेमा पनि चर्को रुपमा कुरा उठेको छ । सरकार आँखा भएर पनि नदेख्ने । कान भएर पनि नसुन्ने अन्धो र बहिरो भएर बसेको अवस्था छ । रसियन सेनामा भर्ती भएका अन्य देशका नागरिकहरुलाई अन्य देशले फिर्ता ल्यायो । हाम्रो सरकार फिर्ता ल्याउने पहल गर्नु त परै जाओस् । परिवारलाई भेट्ने, सान्त्वना दिने अवस्थामा पनि छैन ।’
संसदमा उठेका विषयमाथि प्रधानमन्त्री जवाफ माग गर्दै प्रतिपक्ष दलहरुले केहीबेर आफ्नो आसनबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । त्यसपछि बैठक सुचारु भएको थियो ।