अख्तियार प्रमुख भन्छन्-७० करोडको अडियो प्रकरणको छानबिन भइरहेको छ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले सेक्युरिटी प्रिन्टिङ प्रेस र ७० करोडको अडियो प्रकरणको छानबिन भइरहेको बताएका छन् । मंगलबार संसदको सार्वजनिक लेखा समितिमा प्रमुख आयुक्त राईले सेक्युरिटी प्रिन्टिङ प्रेस र ७० करोडको अडियो प्रकरणको छानबिन भइरहेको बताएका हुन् ।
७० करोड प्रकरणमा तत्कालीन संचारमन्त्री तथा नेकपा एमालेका नेता गोकुल बास्कोटा मुछिएका छन् । यस प्रकरणपछि बास्कोटाले राजीनामा दिएका थिए । त्यस्तै प्रमुख आयुक्त राईले टेरामक्स खरिदमा भएको अनियमितता प्रकरणमा बयान लिने काम सकिएको र केही समयमा मुद्दा दायर गर्ने तयारी भइरहेको बताए । उनले भने, ‘बयान लिने काम सकिएको छ । अध्ययन अनुसन्धानको काम भइरहेको छ । केही समयमा रिजल्ट आउँछ ।’
टेरामक्स प्रकरणमा तत्कालीन संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र बहालवाला स्वास्थ्य तथा जनसख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अख्तियारले केहीदिन अघि बयान लिएको थियो ।
बहालवाला मन्त्रीसँग अख्तियारले बयान लिएको भन्दै संसदमा विपक्षी दलले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । तर मन्त्री बस्नेतले कसैले उजुरी हाल्दैमा र बयान दिन जाँदैमा राजीनामा दिनुनपर्ने बताउँदै आएका छन् ।