रुसी सेनामा भर्ती भएका युवालाई सकुशल घर फिर्ता ल्याउन परिवारहरुको सरकार समक्ष आग्रह


काठमाडौँ । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारले आफन्तलाई सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकार समक्ष आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले रुसी सेनामा भर्ती भएका केही आफन्तहरु बेपता भएका र केहीको अवस्था नाजुक रहेको भन्दै सकुशल घर फिर्ताको वातावरण सरकार समक्ष आग्रह गरेका हुन् ।

यस्तै रुसी सेनाबाट भागेर आएकाहरुले पनि नेपालीहरुको अवस्था निकै नाजुक रहेको बताएका छन् । युद्धमा नेपालीहरुलाई अग्रपङ्तीमा पठाउने र भाषा समेत नबुझेका कारण ज्यान जाने गरेको उनीहरुको भनाइ छ ।

रुसी सेनामा भर्ती भएरपनि नेपाल आउन सफल युवा सुमन राईले रुसी सेनामा रहँदा तालिमबाटै नेपालीहरुमाथि अत्याचार हुने गरेको बताए । उनले अहिले पनि १४–१५ हजारको हाराहारीमा रुसी सेनामा रहेको र युद्धकाक्रममा धेरै नेपालीले ज्यान गुमाएको हुनसक्ने बताए ।

युद्धमा भएको हताहतीका बारेमा पनि रुसी सेनाका अधिकारीले लुकाउने गरेको उनको भनाइ छ । रुसी सेनामा भर्ती भएर नेपाल फर्किएका युवाहरुले वैदेशिक रोजगारीका लागि दुवई कतार लगायतका देशमा गएका युवाहरु पनि उतैबाट रुसी सेनामा भर्ती हुन जाने गरेको बताएका छन् ।