डा. गोविन्दशरण उपाध्याय
नेपालमा पटाका पड्काउन कानुनी प्रतिबन्ध छ । तर साँझ पर्नासाथ टोलटोलमा पटाकाको आवाजले कान खान थाल्छ । सरकार भन्छ, पटाका पड्काउनु गैरकानुनी हो । तर कानुनको उपहास गर्दै पटाका पड्काउनेहरू आफूलाई जिम्मेवार नागरिक पनि ठान्छन् । विशेषगरी दीपावलीका रात धार्मिक उत्सवका नाममा ध्वनि प्रदूषण, वायु प्रदूषण र सार्वजनिक अशान्तिको प्रतिस्पर्धा नै चल्छ । विडम्बना ! हामी उज्यालोको पर्व मनाउने नाममा वातावरणलाई प्रदूषित गर्छौं । लक्ष्मीलाई प्रसन्न पार्ने नाममा धनको दुरुपयोग गर्छौं । अझ दुःखको कुरा, देवीदेवताको आराधना गर्ने नाममा उनीहरूकै अपमान गरिरहेका हुन्छौँ ।
आज बिहानको घटना हो । म घरबाहिर निस्कँदा एउटा उच्चपदस्थ अधिकारीको घरअगाडि पटाका पड्काएर फालिएका कागजहरू छरपस्ट देखेँ । ती कागजहरूमा लक्ष्मी, सरस्वती र गणेशका चित्रहरू थिए । कुनै च्यातिएका थिए, कुनै जलेका थिए र कुनै मानिसका पैतालामुनि कुल्चिइरहेका थिए । केही क्षण ती दृश्यहरू हेरिरहेँ । मनमा गहिरो पीडाबोध भयो । अरूले गरेको व्यवहार देखेरभन्दा पनि आफ्नै धार्मिक समाजको चेतनास्तर सम्झेर मलाई लाज लाग्यो ।
मनमनै प्रश्न उठ्यो— हिजो साँझ यिनै देवीदेवताको पूजा गर्ने हामी, आज बिहान तिनकै चित्र पैतालामुनि कुल्चिने पनि हामी नै होइनौँ र ? यो कस्तो आस्था हो ? यो कस्तो धर्मपालन हो ?
हामी साँझ लक्ष्मीको भव्य पूजा गर्छौं । घरघरमा दीप बाल्छौँ । मन्त्र उच्चारण गर्छौं । धन, विद्या र समृद्धिको कामना गर्छौं । तर पूजा सकिन नपाउँदै देवीदेवताका चित्र भएका पटाकाहरू आगोमा जलाउँछौँ । पटाका पड्किएपछि तिनका खोल र टुक्राहरू सडकमा फाल्छौँ । भोलिपल्ट तिनै चित्रहरू फोहोरमा मिसिन्छन् । मानिसका पैतालाले कुल्चिन्छन् । कुचोले बढारिन्छन् र अन्ततः फोहोरको डङ्गुरमा पुग्छन् ।
म प्रश्न गर्न चाहन्छु-देवीदेवताको चित्रलाई श्रद्धापूर्वक पूजास्थानमा राख्दा पुण्य हुने र त्यही चित्रलाई पटाकाको खोलमा छापेर जलाउँदा केही फरक नपर्ने कस्तो धार्मिक विवेक हो ?
समस्या पटाकामा मात्र सीमित छैन । हामीले दैनिक प्रयोग गर्ने अगरबत्तीका खोल, पूजासामग्रीका प्याकेट, प्रसादका कागज, धार्मिक प्रचारसामग्री र अनेकौँ उपभोग्य वस्तुमा पशुपतिनाथ, बुद्ध, गणेश, लक्ष्मी, सरस्वती, शिव, दुर्गा र कृष्णका चित्रहरू छापिएका हुन्छन् । सामग्री प्रयोग गरिसकेपछि ती खोलहरू सडकमा फालिन्छन् । श्रद्धाका प्रतीक भनिएका चित्रहरू नाली, ढल, फोहोर र मानिसका पैतालामुनि पुग्छन् ।
अझ आश्चर्य त के छ भने यस्तो गर्नेहरू धेरैजसो आफूलाई धार्मिक, आस्तिक र संस्कृतिप्रेमी ठान्ने मानिस नै हुन्छन् । यहाँ प्रश्न चित्रको मात्र होइन, हाम्रो धार्मिक चेतनाको हो । प्रश्न कागजको होइन, श्रद्धाको संस्कारको हो । प्रश्न फोहोर व्यवस्थापनको मात्र होइन, आस्था र व्यवहारबीचको विरोधाभासको हो ।
हामी धर्मको रक्षा गर्ने कुरा गर्छौं । सनातन संस्कृतिको गौरवगान गर्छौं । देवीदेवताको सम्मान गर्नुपर्ने उपदेश दिन्छौँ । तर आफ्नै व्यवहारमा सामान्य सावधानी अपनाउन सक्दैनौँ । अरूले हाम्रो आस्थाको अपमान गर्दा आक्रोशित हुन्छौँ, तर आफ्नै हातले त्यही अपमान भइरहेको देख्दा मौन रहन्छौँ ।
अरूले हाम्रो धर्मको अपमान गर्दा क्रोधित हुने हामीले आफ्नै हातबाट भइरहेको धार्मिक अपमानप्रति कहिले आत्मालोचना गर्ने ? केवल मन्दिर जाने, घण्टी बजाउने, धूप बाल्ने वा मन्त्र उच्चारण गर्ने क्रियाको नाम होइन । धर्म भनेको विवेक, अनुशासन, पवित्रता, उत्तरदायित्व र आचरणको समन्वय हो । आस्था जब विवेकबाट अलग हुन्छ, तब धार्मिक कर्म पनि यान्त्रिक प्रदर्शनमा सीमित हुन पुग्छ ।
भगवद्गीतामा भनिएको छ-न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते _(भगवद्गीता ४.३८) अर्थात् यस संसारमा ज्ञानसमान पवित्र अरू केही छैन ।यस श्लोकले ज्ञानको पवित्रता प्रतिपादन गर्छ । धार्मिक जीवनमा पनि ज्ञान र विवेकको उपयोग आवश्यक छ । विवेकविहीन आस्थाले मानिसलाई कर्मकाण्डी त बनाउन सक्छ, तर जिम्मेवार धार्मिक व्यक्ति बनाउन सक्दैन ।
हाम्रो धार्मिक परम्परामा शौच, संयम, अहिंसा र आत्मानुशासनलाई महत्त्व दिइएको छ । तर धर्मका नाममा सडक फोहोर पार्नु, ध्वनि प्रदूषण फैलाउनु, बालबालिका र वृद्धवृद्धालाई त्रसित बनाउनु तथा आफ्नै आराध्यका चित्रहरूको अवमूल्यन गर्नु कुन धार्मिक आदर्शभित्र पर्छ ?
दसैँ, तिहार, छठ, दीपावली, बुद्धपूर्णिमा र अन्य सांस्कृतिक पर्वहरू हाम्रो सभ्यताका अमूल्य सम्पदा हुन् । यी पर्वहरूले परिवारलाई जोड्छन्, समाजमा आत्मीयता बढाउँछन् र सांस्कृतिक निरन्तरता कायम राख्छन् । यिनको संरक्षण हुनु आवश्यक छ । तर संरक्षणको अर्थ प्रत्येक प्रचलित व्यवहारलाई प्रश्नरहित स्वीकार गर्नु होइन । परम्पराको सम्मान गर्नु भनेको त्यसमा देखिएका अविवेकी अभ्यासलाई सुधार्नु पनि हो ।
धर्मको वास्तविक शत्रु सधैँ बाहिर हुँदैन । कहिलेकाहीँ हाम्रो अज्ञान, असावधानी र देखावटी धार्मिकता नै धर्मको प्रतिष्ठाका लागि चुनौती बन्छन् । हामी अरू धार्मिक समुदायले आफ्ना पवित्र पुस्तक, धार्मिक चिह्न र आराध्य प्रतीकलाई कसरी सम्मान गर्छन् भन्ने कुरा पनि हेर्न सक्छौँ । प्रत्येक समुदायमा सम्मानका अभ्यास र कमजोरी दुवै हुन्छन् । तर अरूको गल्ती खोज्नुभन्दा आफ्नै धार्मिक व्यवहार सुधार्नु बढी आवश्यक छ ।
सनातन संस्कृतिको प्रतिष्ठा केवल भाषण, नारा र सामाजिक सञ्जालका प्रतिक्रियाबाट बढ्दैन । यसको प्रतिष्ठा हाम्रो आचरणबाट बढ्छ । धर्मको पक्षमा हजारौँ शब्द बोल्ने मानिसले सडकमा फालिएको देवीदेवताको चित्र उठाएर उचित व्यवस्थापन गर्न सक्दैन भने उसको धार्मिक चेतनामाथि प्रश्न उठ्नु स्वाभाविक हो ।
यसैले अब केही व्यवहार बदल्न आवश्यक छ । पटाका, अगरबत्ती, खाद्यसामग्री तथा प्रयोगपछि फालिने वस्तुका खोलहरूमा देवीदेवता र पवित्र धार्मिक प्रतीकहरूको चित्र छाप्ने अभ्यास निरुत्साहित गरौँ । उत्पादक र व्यापारीहरूले पनि धार्मिक संवेदनशीलतालाई केवल बिक्री बढाउने साधन नबनाऊन् । उपभोक्ताले यस्ता सामग्री नकिनेर जिम्मेवार बजार संस्कृतिको विकास गर्न सक्छन् । प्रयोगमा आइसकेका धार्मिक चित्र र सामग्रीलाई जथाभावी नफाली सम्मानजनक तथा वातावरणमैत्री तरिकाले व्यवस्थापन गरौँ ।
मन्दिर व्यवस्थापन समिति, धार्मिक सङ्घसंस्था, पुरोहित, धर्मगुरु, शिक्षक र अभिभावकहरूले यस विषयमा जनचेतना फैलाऊन् । बालबालिकालाई देवीदेवताको पूजा गर्न मात्र होइन, धार्मिक प्रतीकको सम्मान गर्न र सार्वजनिक वातावरण स्वच्छ राख्न पनि सिकाऔँ ।
त्यसभन्दा महत्त्वपूर्ण कुरा, धर्मलाई प्रदर्शनको विषय होइन, विवेकपूर्ण जीवनपद्धतिको विषय बनाऔँ ।लक्ष्मीको पूजा गर्ने हो भने धनको सदुपयोग गर्न पनि सिकौँ । सरस्वतीको आराधना गर्ने हो भने ज्ञान र विवेकको सम्मान गरौँ । गणेशको पूजा गर्ने हो भने आफ्ना व्यवहारमा देखिएका अवरोध, अज्ञान र असावधानी हटाउने प्रयास गरौँ । पशुपतिनाथको भक्त हुने हो भने संयम र करुणालाई जीवनमा स्थान दिऔँ । बुद्धलाई सम्मान गर्ने हो भने सजगता, अहिंसा र करुणाको अभ्यास गरौँ ।
देवीदेवताको सम्मान केवल तिनका चित्रलाई ढोग्नुमा सीमित हुनु हुँदैन । त्यो सम्मान हाम्रो व्यवहार, स्वच्छता, सामाजिक उत्तरदायित्व र नैतिक चेतनामा पनि प्रतिबिम्बित हुनुपर्छ ।
अन्त्यमा, एउटा प्रश्न प्रत्येक आस्थावान् व्यक्तिको आत्मचिन्तनका लागि छोड्न चाहन्छु- हामी धर्मको रक्षा गरिरहेका छौँ कि धर्मका नाममा आफ्नै अविवेकी व्यवहारको रक्षा गरिरहेका छौँ ? आस्थाले मानिसलाई धर्मसँग जोड्छ । विवेकले त्यही आस्थालाई सही दिशा दिन्छ । आस्थामा विवेक जोडिएन भने पूजा पनि प्रदर्शन बन्न सक्छ, उत्सव पनि प्रदूषण बन्न सक्छ र श्रद्धा पनि अनजानमै अपमानको कारण बन्न सक्छ ।
त्यसैले हाम्रो साझा सङ्कल्प हुनुपर्छ- देवीदेवताको पूजा मात्र नगरौँ, तिनका प्रतीकहरूको सम्मान पनि गरौँ । धार्मिक उत्सव मात्र नमनाऔँ, धार्मिक उत्तरदायित्व पनि निर्वाह गरौँ । धर्मको गौरव केवल शब्दमा होइन, व्यवहारमा स्थापित गरौँ । किनभने विवेकविहीन आस्था धर्मको शक्ति होइन, धार्मिक दुर्बलता हो ।

प्रतिक्रिया