प्राचीन विराटनगरलाई संरक्षण गर्ने र आधुनिक विराटनगर बनाउनेछुः मेयर कोइराला(अन्तरवार्ता)



विराटनगर । मुलुकमा सङ्घीयता आइसकेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका नागेश कोइराला राजनीतिक वृत्तमा मात्र नभई सामाजिक क्षेत्रमा पनि परिचित व्यक्तित्व हुन् । सादा जीवन, उच्च विचार, शालिन एवं भद्र स्वभावका धनी उनको यही व्यक्तित्वले यस पटकको निर्वाचनमा भारी मतले विजयी भए । नगरप्रमुख कोइरालासँग रासस प्रदेश नम्बर १ कार्यालय राससकर्मी मोहम्मद सदरुल र मनोज दाहालले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

यहाँका पिताजी स्वर्गीय कृष्णप्रसाद कोइरालाले स्थापना गरेको यो विराटनगर सहर राजनीतिक, सांस्कृतिक, धार्मिक, आर्थिक एवं सामाजिक महत्व बोकेको छ, यसलाई हजुरले कसरी कायम राख्नुहुन्छ ?

हो विराटनगर शहर स्थापना गर्नेदेखि यहाँ विकासको पूर्वाधार निर्माण गर्न मेरा पिताजी कृष्णप्रसाद कोइराला र त्यसपछि गिरिजाप्रसाद कोइरालालगायत धेरै अग्रजहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ । नेपालको राजनीतिमा विराटनगरको योगदान ठूलो रहेको छ । लामो समय स्थानीय निकाय निर्वाचन नहुँदा जनताको भावनाको प्रतिनिधित्व हुन सकेको थिएन । पछि जनप्रतिनिधि आइसकेपछि मुलुकमा कोरोनाको महामारीका कारण विकास निर्माणले गति लिन सकेन । विराटनगरको ऐतिहासिक महत्वलाई स्थापित गर्दै जनताको भावनाअनुसार विकासका क्रियाकलापहरु सञ्चालन गर्ने दृढता लिएको छु ।

विराटनगर औद्योगिक नगरीको रुपमा पनि परिचित छ, यस्तो अवस्थामा निजी क्षेत्रलाई नयाँ उद्योग स्थापनाप्रति आकर्षित गर्न कस्तो योजना बनाउनुभएको छ । यस क्षेत्रमा पहिले स्थापना भएका अधिकांश ठूला उद्योगहरु विस्थापित भएका छन् भने साना तथा लघु उद्योग करिब १३ हजार छन् । तीमध्ये छदेखि सात हजार सञ्चालित छन् भने बाँकी त्यत्तिकै खाली बसिरहेका छन् । ती उद्योगलाई पुनः सञ्चालन गर्ने, विस्थापित हुने अवस्थामा रहेका उद्योगीहरुको भावना बुझ्ने र सुविधा दिएर भए पनि उद्योग सञ्चालन गर्न प्रोत्साहन गर्ने योजना बनाएको छु । यसबाट अर्थतन्त्र चलायमान मात्र होइन, प्रशस्त रोजगारी पनि सिर्जना गर्न सकिन्छ । विराटनगरको साखलाई बढाउन लघु उद्योगको पनि धेरै ठूलो भूमिका हुन सक्छ । विराटनगर जुट मिलको ५०० देखि ६०० बिघा जग्गा त्यत्तिकै खेर गइरहेको छ । देशकै प्रसिद्ध मानिएको यस जुट मिललाई पुनः जीवित बनाउन भन्दा पनि त्यहाँ रहेको जग्गा विशेष आर्थिक क्षेत्र बनाउन सकिन्छ र त्यहाँबाट हामीले भारतलगायत अन्य देशको लगानी भित्र्याउन सकिन्छ । यसबारेमा उद्योगीहरुसँग कुराकानी पनि भएको छ । यसो गर्न सकिएमा रोजगारी सिर्जना र महानगरपालिकाको आम्दानी बढाउन सकिन्छ ।

काठमाडौँ महानगरपालिका प्रमुखले फोहर व्यवस्थापन, धरान उममहानगरपालिकाका प्रमुखले पानीको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखे जस्तै विराटनगर महानगरपालिकाको प्रमुखको हैसियतले तपार्इंले के कुरालाई पहिलो प्राथमिकतामा राख्नुभएको छ ?

यो मानवको आवश्यकताको कुरा हो, तपाईं एउटा पसलमा जानुहुन्छ, एक गिलास पानी माग्नुहुन्छ तर पसलले मिनर वाटर किन्न भन्छ, त्यसपछि तपाई शौचालय जानु हुन्छ तपाईलाई शौचालय चाहिन्छ । अब तपाईं  खाना खानुहुन्छ वा विभिन्न वस्तु उपभोग गर्नुहुन्छ र त्यसबाट फोहर हुन्छ, फोहरलाई व्यवस्थापन गर्नुपर्छ । खाना खाएर पेट भरेपछि तपाईंलाई एकछिन हरियाली चाहिन्छ, त्यसको लागि पार्क चाहिन्छ । एकछिन आराम गरेपछि सडकमा हिँड्नुहुन्छ, सडक अस्तव्यवस्त भेट्नुहुन्छ, सिटी सफारी पनि त्यही, गाडी पनि त्यहीँ छ, रिक्सा, ट्रक, साइकल पनि त्यहीँ छ, तपाईं सडकमा सुरक्षित महसुस गर्नु हन्न, हिँड्न सक्नुहन्न । त्यसैले सडक सुरक्षित हुनुपर्‍यो, सडकपेटीमा सुरक्षा हुनुपर्‍यो । सँगसँगै गाडीमा हिँड्नेलाई दुर्घटना हुँदैन भन्ने महसुस हुनुपर्‍यो । त्यसलै विराटनगरमा तीन वटा मात्र रुट छ । ७०० किलोमिटर नेटवर्क सडकमध्ये २५० देखि ३०० मात्र कालोपत्र भएको देखिन्छ । अरु बाँकी सबै लथालिङ्ग छ । एसियाली विकास बैंकको कार्यक्रम पनि सीमित ठाउँमा मात्र लागू भएको देखिन्छ । विराटनगरमा अझै सडकको समस्या सँगै ढल वा नालीको पनि समस्या रहेको छ । अब हामीले ४५० किलोमिटर बाटो बनाउँदा अगाडि भएको २५० देखि ३०० किलोमिटर कालोपत्र सडक भत्किने अवस्थामा पुगिसक्ने हुँदा जम्मा ७०० किलोमिटर बनाउनुपर्छ । त्यसको सञ्जाल बनाउन पर्‍यो । त्यसमा पहिले डुबानको समस्या समाधान गर्नुपर्‍यो, नभए सडक भत्किने हुन्छ । जबसम्म सडकमा पानी जम्न छोड्दैन तबसम्म हाम्रो प्रयास निरर्थक हुन्छ । त्यसैले यस कुरामा हामी गम्भीर छौँ ।

विराटनगरलाई आधुनिक सहर बनाउने चुनौती छ, यसलाई कसरी तालमेल मिलाएर लैजाने योजना बनाउनुभएको छ ?

धार्मिक र पर्यटकीयस्थलहरुमा विराटनगरको नाम पाएको विराट राजाको राजधानी भएकाले नाम यहीँबाट आएको जस्तो लाग्छ । त्यसलाई विराट राजाको पहिचान र नाम देखिने सङ्ग्रहालय बनाएर धार्मिक पर्यटनमा अगाडि बढाउन सकिन्छ । विराटनगरबाट सात जना प्रधानमन्त्री बनेर जानु भएको छ । उहाँहरुको इतिहासलाई वणर्न गर्दै एउटा सङग्रहालय निर्माण गरी मुलुकभरिका नागरिकलाई पूर्वप्रधानमन्त्रीहरुले दिएको योगदानको विषयमा उजागर गराउन सकिन्छ । विराटनगरका केशलिया र सिङ्घीया नदीमा तटबन्ध बनाउने र त्यसको माथि सडक बनाउन सकिन्छ । त्यस्तो सडक बालमैत्री, अपाङ्गतामैत्री, दृुष्टिविहीनमैत्री, पैदल यात्रीमैत्री हुनसक्छ ।

विराटनगर महानगरपालिकामा २०५३ सालमा शिलान्यास भएको चक्रपथले अहिलेसम्म पूणर्ता पाएको छैन्, यसलाई पूरा गर्नुपर्नेतर्फ केही सोच्नुभएको छ कि ?

विराटनगरका लागि ‘वाइपास रोड’ को निकै आवश्यक छ, एउटै सडकमा १० थरिका गाडी सञ्चालन हुने गर्दा सडक असुरक्षित छ, क्षमताभन्दा बढी मालबाहक गाडीमा सामान ढुवानी भइरहेको छ, सडक पनि भत्किरहेको छ । त्यसैले वैकल्पिक सडक निर्माणतर्फ ध्यान दिनु जरुरी छ । झण्डै २५ वर्षअघि शिलान्यास भएको चक्रपथ के कारणले सम्पन्न हुन नसकेको यस विषयमा प्रदेश सरकारसँग पनि छलफल गर्नेछु । चक्रपथ सम्पन्न हुन्छ भने गरौँ, होइन भने पूर्ण रुपमा बन्द गरौँ भन्नेछु । हामी सानो हुँदा चक्रपथ परियोजना आएको थाहा पाएका थियौंँ तर यतिका वर्षसम्म सम्पन्न नभएपछि मैले मेरो घोषणापत्रमा अर्को करिडोर सडक बनाउने उल्लेख गरेको हुँ ।

विराटनगर सहरलाई सफा, हरियाली एवं सुन्दर बनाउन तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन एवं हेर्न लायकको ठाउँ बनाउन के-के योजना बनाउनुभएको छ ?

विराटनगर सहरलाई सफा, हरियाली एवं सुन्दर बनाउन तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन एवं हेर्न लायकको ठाउँ बनाउन धेरै महत्वकाँक्षी योजना बनाइएको छ । विराटनगरलाई साँच्चीकै महानगर बनाउन नयाँ सिराबाट काम शुरु गर्नुपर्ने देखिन्छ । शुरुमै दातृ निकायले सहयोग पर्खेर काम हुन सक्दैन । महानगरपालिकाका पहिले आफूमा सक्षम हुनुपर्‍यो, अनि दातृ निकायले पत्याउँछ । त्यो पत्याउने परिस्थिति निर्माण गर्ने कार्य हाम्रो हो, त्यसका लागि हामी समपूणर् टोली लागिरहेका छाँै । हामी आत्मनिर्भर भएपछि कोकोसँग कुरा गर्ने, कुन परियोजनालाई आगाडि बढाउने भन्ने कुरा आउँछ । प्राचीन विराटनगरलाई संरक्षण गर्ने र आधुनिक विराटनगर बनाउने हाम्रो उद्देश्य रहेको छ ।

निर्वाचनताका तपाईंले जारी गर्नु भएको सङ्कल्प एवं घोषणापत्र भन्दा पनि जनताले चाहेका र माग के कस्तो रहेको पाउनु भयो ?

निर्वाचनको क्रममा मतदाताको घरदैलोमा पुग्दा र अहिले विजयी भएपछि अधिकांश मतदाताको मूल चाहना भनेको कर घटाउनु रहेको छ । जस्तो कि पैतृक सम्पत्तिबाट बनाएको घरको कर रु ५० कर एक्कासी वृद्धि गरेर रु पाँच हजार बनाइएको छ । त्यो फरकले गर्दा कतिपयले घरको कर नतिरेको देखिन्छ, कर घटाएर नगरवासीलाई अब कर तिर्न प्रेरित गराउनु पर्ने भएको छ । लक्ष्य अनुसार राजस्व सङ्कलन भए विराटनगरवासीले खोजेको सम्पूणर् कार्य गर्न सम्भव छ । पहिले महानगरपालिका सक्षम हुनुपर्‍यो । वर्षायाममा नगरका कतिपय स्थानमा डुबानको समस्या छ । व्यवस्थित ढल, नालीको व्यवस्था गरेर डुबानको समस्याबाट मुक्त गराउन आवश्यक छ ।

नगर क्षेत्रको शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँच पुर्‍याउन कस्तो योजना बनाउनुभएको छ ?

शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि धेरै काम गर्नुपर्ने देखिन्छ । उच्चस्तरको अस्पतालको आवश्यकता छ, बीमा र सुकुम्वासीको समस्याको समाधान खोज्नु छ । उनीहरुलाई एकीकृत बस्तीमा राख्नुपर्ने आवश्यकता छ् । कतिपय विपन्न जनता अहिलेको कर तिर्न असमर्थ रहेकाले करको दर घटाउने र करको दायरा बढाउनु पर्ने देखिन्छ । सामुदायिक विद्यालयमा निजी विद्यालयस्तरको जस्तै स्तरीय पठनपाठनको सुनिश्चित गरी प्रत्येक वडामा त्यस्तो विद्यालय स्थापना गर्नु आवश्यक छ । त्यसपछि पनि महानगरपालिकाका गरिबका छोराछोरी जसले आर्थिक अवस्थाका कारण उच्च शिक्षा अथवा आफूले अध्ययन गर्न चाहेको विषयमा आवश्यक सहयोगको प्रबन्ध गरिनेछ । अस्पतालको रुपमा १९ वटै वडामा स्वास्थ्य चौकी भए पनि त्यो राम्ररी सञ्चालन भएको देखिंदैन । यसरी छरिएर राख्नुभन्दा एकीकृत महानगरपालिका एउटा गुणस्तरीय अस्पताल स्थापना गरी निजी अस्पताल बराबरको सेवा सहुलित दरमा विराटनगरवासीलाई उपलब्ध गराउन सकियोस् । खानेपानीको योजनामा नगरवासीलाई मिनरल वाटर सरहको पानी धाराबाट उपलब्ध गराउनेतर्फ मेरो प्रयास रहनेछ ।

सङ्घीय सरकारले विराटनगर महानगरपालिकालाई दिने अनुदान अरु महानगरपालिकाको तुलनामा निकै कम छ यसलाई कसरी लिनुभएको छ ?

केही वर्षअघिसम्म विराटनगर देशकै दोस्रो मुख्य शहरको रुपमा परिचित थियो, राजनीतिक परिवर्तनपछि विराटनगरबाट पाँचजना प्रधानमन्त्री हुनुभयो । अहिले आएर नेपालको छैठौं सहरको रुपमा पुग्नुमा सङ्घीय सरकारले नजर यहाँ नपर्नु नै मुख्य हो । विराटनगरबाट प्रधानमन्त्री बन्नु भएका व्यक्तित्वले देश बनाउन लाग्नुभयो । आफैँ जन्मेको हुर्केको ठाउँलाई बनाउनुभन्दा देशभरिको विकासमा केन्द्रित भएकाले यस्तो भएको हो । सङ्घीय सरकारको मात्र मुख नताकी महानगरपालिका आफैँंले पनि आर्थिक स्रोत जुटाउन प्रयास गर्नुपर्छ । अब हामी रु एक अर्ब राजस्व सङ्कलन गर्ने उद्देश्यले लागि परेका छौँ । विराटनगर सफल र सक्षम बनाउन लागिरहेको छौँ । विराटनगरको साख बचाउने उद्देश्यले कार्य गरिरहेका छौँ, यसमा राजनीतिक दल, नागरिक समाज र सम्पूणर् नगरवासीको साथ र सहयोगको पनि उत्तिकै जरुरत पर्दछ ।

अन्त्यमा विराटनगरवासीलाई केही भन्न चाहनु हुन्छ ?

मलाई अत्याधिक बहुमतले प्रमुखमा विजयी गराउनु भएकामा सम्पूणर् नगरवासीप्रति हार्दिक धन्यवाद र कृतज्ञता ज्ञापन गर्न चाहन्छु । नगरवासीले जुन विश्वासका साथ मलाई यो जिम्मेवारी सुम्पिनु भएको छ, त्यसलाई कत्ति पनि कम हुन नदिई इमान्दारपूर्वक काम गर्नेछु । एउटा व्यक्तिको प्रयासले मात्रै सम्पूर्ण नगरको मुहान फेर्न सम्भव हुँदैन । सबैको साथ र सहयोगको जरुरत पर्दछ । सँगसँगै खबरदारी र सचेत गराउन पनि आग्रह गर्दछु । निर्वाचनको क्रममा मैले सार्वजनिक गरेको प्रतिबद्धताको कार्यान्वयन गर्ने कुरामा आशङ्का नगर्न पनि आश्वस्त तुल्याउन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अझै सुध्रिएन नरभक्षी बाघको आनीबानी

नवलपुर । मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघको ‘आनीबानी

कोरोना सङ्क्रमण बढ्यो, भेरियन्टको नयाँ प्रजातिबारे अध्ययन हुँदै

काठमाडौं । पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ। भारतमा सङ्क्रमण

रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने

काठमाडौं । रञ्जु दर्शनाले आगामी संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट आगामी

एउटा यस्तो पास्नी !

रमेश गिरी, भक्तपुर । अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो