काठमाडौँ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशप्रति संसदमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले आपत्ति जनाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीशको आदेशप्रति आपत्ति जनाएका हुन् ।
कामु प्रधानन्यायाधीश प्रधानले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिसविरुद्ध दायर दरपिठ निवेदन दर्ता गरेर पेसी तोक्न आदेश दिएकी थिइन् । रास्वपा सांसद न्यौपानेले कामु प्रधानन्यायाधीश न्यौपानेले कन्फिलिट अफ इन्ट्रेस्टका आधारमा आदेश दिएको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘सर्वोच्च अदालत कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको आदेश भन्ने एउटा आदेश अहिले मिडियामा छरपस्ट आएको छ। यो आदेश इजलास संयुक्त हो कि, एकल हो कि, वा बृहत् इजलास हो कि, या पूर्ण इजलास हो कि, या संविधानको कुन धाराले गाइड गरेको इजलास हो, यहाँ देखिन्न ।’
सांसद बास्कोटाले न्याय सम्पादन नगरेर अन्य विषयमा चासो देखाएको बताइन् । उनले दरपीठ भएका रिट दर्ता गर्न आदेश आदेश दिने कत्तिको न्यायोचित हो भन्ने प्रश्न गरिन् ।
सांसद बास्कोटाले पनि कामु प्रधानन्यायाधीश मल्लको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । उनले कामु प्रधानन्यायाधीशले सरकारसँग लडाइँ अझै बाँकी रहेको बताएको प्रसंग उल्लेख गर्दै राजनीति गर्न मन भए कोट खोलेर आउनु चुनौती दिइन् ।
उनले भनिन्, ‘उहाँले लडाइँ अझै बाँकी छ भन्नुभएको छ । को सँग लडाइँ बाँकी छ ? उहाँ त न्यायमूर्ति हो । उहाँले सरकारसँग लडाइँ अझै बाँकी छ भन्नुभएको हो ? राजनीति गर्न मन भए कोट खोलेर आउनुहोला हामी तयार छौँ ।’

प्रतिक्रिया