काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो पीडितहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको राष्ट्रिय बिपत जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा प्रधानमन्त्री ओलीले केही दिन लगातार बर्षा हुन सक्ने र त्यसबाट बाढी पहिरोको जोखिम कायम रहेको भन्दै बाढी पहिरो पीडितहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन तथा पुनस्र्थापनाका २४ घण्टा तयार रहन पनि निर्देशन दिए । उनले बिपद जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि आवश्यक आर्थिक स्रोत तथा जनशक्ति पूर्ति गरि तयार रहन निर्देशन दिनुभएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।
बाढी पहिरोका घटनाहरु बढिरहेको अवस्थामा तत्काल उद्धार, राहत र पुनस्र्थापनाका विषयमा बैठकमा छलफल भएको र प्राकृतिक विपदबाट पीडितहरुलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरुमा पुनस्र्थापना गर्नुपर्नेमा जोड दिइएको उनले बताए ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरबहादुर देउवा लगायत मन्त्रीहरु र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
गृह मन्त्रायका अनुसार शुक्रबार मात्रै बाढी पहिरोमा परि २३ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् । त्यसैगरी बुधबार राति सिन्धुपाल्चोकको बाह्रबिसेमा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएका छन् ।

प्रतिक्रिया