‘चीनको समृद्धि हेर्न होइन, नेपालको समृद्धिको सम्भावना खोज्न म चीन जाँदैछु’


श्रीराम न्यौपाने
चीनको समृद्धि हेर्न होइन, नेपालको समृद्धिको सम्भावना खोज्न म चीन जाँदैछु। चीनको विकासको चमक होइन, त्यसको जग खोतल्न जाँदैछु । १५ नोभेम्बर २०२६, आइतबारदेखि २६ नोभेम्बरसम्म चिनियाँ कम्युनिष्ट पार्टी (cpc) को आमन्त्रणमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्रीको नेतृत्वमा २० सदस्यीय टोलीसँगै म, तनहुँ –२ को प्रतिनिधिसभा सदस्य पनि चीन भ्रमणमा जाँदैछु।

निर्वाचनअघि जनतासँग गरेको मेरो प्रतिबद्धता आज पनि उस्तै छ–जनताले तिरेको करबाट प्राप्त तलब–भत्ता तनहुँ –२ को जनहितमा प्रयोग गर्दै आएको जस्तै सकेसम्म बैदेशिक भ्रमण नजाने, जानुपरे आफ्नै खर्चमा जाने वा भ्रमण बापत कुनै नगद प्राप्त भए तनहककु–२ को जनहितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। यो भ्रमण चिनियाँ पक्षको राज्यकोषबाट प्राप्त सहयोगमा हुन लागेको छ। यद्यपि मेरो यो भ्रमणको उद्देश्य घुमफिर वा औपचारिकतामा सीमित हुने छैन। यसलाई आफ्नो देश, जनता र राष्ट्रिय विकासको हितमा उपयोग गर्ने मेरो संकल्प छ।

मेरो मुख्य चासो एउटा गम्भीर प्रश्नमा केन्द्रित हुनेछ–
कुनै बेला नेपालको आर्थिक हैसियतसँग तुलना गर्न सकिने अवस्थामा रहेको चीन आज विश्वको शक्तिशाली अर्थतन्त्रमध्ये एक कसरी बन्यो ? चीनले आज के गरिरहेको छ भन्ने हेर्नु एउटा पक्ष हो, तर चीन आजको चीन बन्नुअघि आफ्नो आर्थिक हैसियतअनुसार के गर्दै थियो भन्ने बुझ्नु अझ महत्त्वपूर्ण छ।

– चीनले विकासको सुरुवात गर्दा कस्ता प्राथमिकता निर्धारण गरेको थियो?
– कति पुस्ताले कस्तो मेहनत, त्याग र योगदान गरे?
– कस्ता ऐन, कानुन, नीति र संस्थागत संरचना निर्माण गरिए?
– सरकारमा कस्ता नेतृत्व र कार्यान्वयन क्षमता भएका व्यक्तिहरूलाई जिम्मेवारी दिइयो ?
– ऊर्जा, कृषि, उद्योग, पूर्वाधार, प्रविधि, शिक्षा र रोजगारीलाई कसरी एकअर्कासँग जोडियो ?
– राष्ट्रिय स्रोतसाधन र ऊर्जालाई उत्पादन, उद्योग र रोजगारी सिर्जनामा कसरी उपयोग गरियो ?
– चीनले आफ्नो विकासको यात्रामा गरेका कुन निर्णय नेपालका लागि उपयोगी हुन सक्छन् ?

म चीनको कपिपेस्ट गर्नुपर्छ भन्ने पक्षमा छैन । चीन आज जहाँ पुगेको छ, त्यहीँबाट नेपाललाई त्यहाँ पुर्याउने कल्पनाभन्दा चीन नेपालको जस्तै आर्थिक हैसियतमा हुँदा कहाँबाट सुरु भएको थियो, के गरेको थियो र कसरी अगाडि बढेको थियो भन्ने अध्ययन मेरो प्राथमिकतामा रहनेछ । मेरो प्रश्न चीन कति विकसित भयो भन्ने मात्र होइन, नेपालले आफ्नो वर्तमान हैसियतबाट विकासको यात्रा कसरी सुरु गर्ने भन्ने हो एउटा नागरिक, सांसद र सत्तारुढ दलको सदस्यको हैसियतले म हरेक दिन चीनको इतिहास, वर्तमान विकास अभ्यास र नेपालले सिक्नुपर्ने विषयहरूमा प्रत्यक्ष घुमेर देखेर र अनुभुत गरेर अध्ययन गर्नेछु। त्यसबाट प्राप्त निष्कर्ष, प्रश्न र सुझाव आम नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू समक्ष आफ्नो सामाजिक सञ्जाल मार्फत दैनिक प्रस्तुत गर्ने प्रयास गर्नेछु।

यस यात्रालाई मेरो अर्को अभियानसँग पनि जोड्नेछु–सामाजिक इन्जिनियरिङ अभियान । किनकी देश विकास केवल राजनीतिक नारा, सत्ता परिवर्तन वा व्यक्तिको अनुहार परिवर्तनले हुँदैन। त्यसका लागि सोच, नीति, कानुन, संस्था, नेतृत्व, कार्यसंस्कृति र उत्पादन प्रणालीमै परिवर्तन आवश्यक हुन्छ ।

नेपाललाई चीनजस्तै बनाउन सकिन्छ कि सकिँदैन ? सकिन्छ भने के परिवर्तन गर्नुपर्छ? नसकिने हो भने हाम्रो बाधा कहाँ छ? भूगोलमा, स्रोतसाधनमा, नीतिमा, नेतृत्वमा, कर्मचारीतन्त्रमा कि हाम्रो सोच र कार्यान्वयन संस्कृतिमा ? यी प्रश्नको उत्तर खोज्ने मेरो प्रयास हुनेछ । एसिया प्रशान्त क्षेत्रको सबैभन्दा गरिब मुलुकमध्ये एक नेपालको सांसदको हैसियतले म विश्वकै शक्तिशाली राष्ट्र चीनको समृद्धि हेर्न मात्र होइन, नेपालको समृद्धिको सम्भावना खोज्न जाँदैछु। चीनको विकासको चमक होइन, त्यसको जग खोतल्न जाँदैछु । किनकी मेरो विश्वास छ– देश बनाउने सूत्र विदेशी मोडलको नक्कलमा होइन, आफ्नो देशको क्षमता, स्रोतसाधन र आवश्यकता अनुसार सही नीति, सक्षम नेतृत्व र नतिजामुखी कार्यान्वयनमा हुन्छ । चीनले देश बनायो, हामीले बहस मात्रै गर्ने कि अब नेपाल बनाउने इन्जिनियरिङ पनि सुरु गर्ने ?

नारा होइन, नतिजा खोजौँ !
अनुहार होइन, प्रणाली बदलौँ !
ऊर्जाको सन्तुलित उत्पादन र खपत गरौँ !
स्रोतलाई उत्पादनमा, उत्पादनलाई रोजगारीमा र रोजगारीलाई समृद्धिमा बदलौँ !
सामाजिक इन्जिनियरिङ अभियानः अब देश बनाउने कुरा होइन, देश बनाउने सूत्र खोज्न १२ दिनको चीन भ्रमण फलदायी हुने विस्वास लिएको छु।