काठमाडौँ। संघीय समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पदबाट हटाउन सिफारिस गरिएको छ । पार्टी महासचिव रामसाहयप्रसाद यादव नेतृत्वको कार्यदलले गिरीलाई मंगलबार सांसद पदबाट हटाउन सिफारिस गरेको हो । पार्टी संसदीय दलको निर्देशन र ह्वीप नमानेका कारण गिरीलाई पदबाट हटाउन सिफारिस गरिएको कार्यदल सदस्य मोहम्मत इस्तियाक राईले जानकारी दिए ।
संविधानको अनुसूची ३ मा रहेको निसान छाप परिवर्तनका लागि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको नक्सा संशोधनका लागि ल्याइएको संविधान संशोधन विधेयकको उनले विरोध गरेकी थिइन् ।
उक्त विधेयकमाथि गिरीले संशोधन प्रस्तावसमेत दर्ता गराएकी थिइन् । संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने दिन पार्टीको ह्विपविपरीत संसद्मा उपस्थित भएर उनले संशोधन प्रस्तावको विरोध गर्दै बाहिष्कार गरेकी थिइन् ।

प्रतिक्रिया